Tune to BFM 91.2|Biratnagar

रगत अभाव टार्न तीव्र बनाइयो रक्तदान

विराटनगर, २० भदौ । कोरोना भाइरसको महामारीका बीचमा भएको रगत अभाव टार्नका लागि लायन्स क्लब अफ विराटनगर गुराँसले आजरबाट साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पहिलो पटक रगत दिएर कार्यक्रमको शुभारम्भ गर्नु भयो । लायन्स क्लबले रगत दान गर्न सर्वसाधारण, नागरिक अगुवा, सरकारी कर्मचारी, सुरक्षाकर्मी, पेसाकर्मी सबैलाई आह्वान गरेको छ ।

क्लबका अध्यक्ष मदन खतिवडाले एक साताको अवधिमा तीन सय पिन्ट रगत संकलन गरेर रक्तसंचार केन्द्रलाई बुझाउने योजना रहेको जानकारी दिनु भयो । त्यस्तै लायन्स क्लब अफ विराटनगर शुभमले पनि रगत संकलनका लागि साताव्यापी कार्यक्रम संचालन गरेको छ । उसले

आज बिहानसम्ममा ४७ पिन्ट रगत संकलन गरिसकेको छ । रगत अभावको समस्या समाधान गर्नका लागि प्रदेश १ मा विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रमलाई तीव्र बनाएका छन् । रक्तसंचार केन्द्र विराटनगरको आह्वानमा संघ संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै रगत संकलन गर्न थालेका हुन् ।

विभिन्न लायन्स क्लब, इन्जिनियर एसोसिएशन, सरकारी एवं गैर सरकारीसमेतका संघ संस्थाले केन्द्रमै रक्तदान कार्यक्रमको आयोजना गरेर रगत अभाव टार्ने प्रयास थालेका छन् । रक्तसंचार केन्द्र प्रदेश १ का प्रमुख एवं प्राविधिक इन्चार्ज शिवानन्द यादवले कोरोना महामारीमा लामै समयदेखि रगतको अभाव खड्किएपछि समस्या भएको सुनाउनु भयो । तर विभिन्न संघ संस्थालाई रक्तदानका लागि आह्वान गरेपछि अहिले त्यो समस्या टर्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

यादवका अनुसार कोरोना त्रासका कारण रगत दिन कोही पनि नआउने र सामूहिक रक्तदान कार्यक्रम आयोजना नहुने अवस्था थियो । उहाँले नियमित रुपमा रक्तदान कार्यक्रम भइरहँदा मात्रै रगतको अभाव नहुने पनि बताए ।

प्रदेश १ मा एक दिनमा ४० पिन्टभन्दा बढी रगतको आवश्यकता पर्ने जानकारी यादवले दिनु भयो । विराटनगरस्थित केन्द्रबाट विराटनगरका सबै अस्पताल, इटहरी, धरान, लाहान, दमक, बिर्तामोडसमेतका स्थानमा रगत आपूर्ति हुँदै आएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button