राजसंस्था आगामी निर्वाचनको मुख्य एजेण्डा : लोहनी
विराटनगर, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी निर्वाचनमा संवैधानिक राजसंस्था र धर्म सापेक्षता पार्टीको दुई मुख्य एजेण्डा हुने बताउनु भएको छ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राजतन्त्रलाई सवै दलहरुले सहमती कायम गर्ने र धर्मबारे संविधान अनुसार जनमत संग्रह गर्नुपर्ने विचार राख्नु भयो ।अध्यक्ष लोहनीले संविधान अनुसार गठन भएको सर्वोच्च अदालतले संसद विघटन सम्वन्धमा आउने निर्णय स्विकार्य हुने बताउनु भयो ।उहाँले राप्रपा ३० वर्ष पुरानो प्रजातान्त्रिक पार्टी भएकोले संसद विघटनका सम्वन्धमा शान्तिपूर्ण आन्दोलन गर्ने धारणा राख्नु भयो ।
अध्यक्ष लोहनीले मुलुकमा बेरोजगारी समस्या विकराल भएकोमा चिन्ता व्यक्त गर्दै विश्वका विभिन्न देशहरुमा नेपालीहरु जानु दुःखद भएको गुनासो गर्नुभयो ।उहाँले संविधानमा वहुमतको सरकारले संसद विघटन गर्ने व्यवस्था नभएको उल्लेख गर्दै ६४ प्रतिशत वहुमतको सरकारले संसदलाई छल्न नमिल्ने बताउनु भयो ।