Tune to BFM 91.2|Biratnagar

राज्यमन्त्री विश्वासद्धारा सरस्वती माविलाई बस हस्तान्तरण

विराटनगर १ पुस । प्रदेश–१ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भौतिक पूर्वाधारको विकास गरेर मात्र मुलुकको समग्र विकास हुन नसक्ने बताउनुभएको छ ।

मोरङको ग्रामथान गाँउपालिका २ झोराहाटस्थित सरस्वती नमुना माध्यमिक विद्यालय परिसरमा आज आयोजित बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । राज्यमन्त्री विश्वासले मुलुकमा बहुमतको सरकार निर्माण भएपछि देशभर अभूतपूर्वरुपले विकास निर्माणको काम चलिरहेको बताउनुभयो । मन्त्री विश्वासले भौतिक पूर्वाधारमा पर्याप्त जोड दिइराखिएको अवस्थामा अब स्वास्थ्य र शिक्षाको विकासमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य र शिक्षाको बिकास बिना देश अघि बढ्न नसक्ने उहाँको भनाइ थियो ।कार्यक्रममा राज्यमन्त्री विश्वासले सरस्वती माविलाई एउटा बससमेत हस्तान्तरण गर्नुभयो । उहाँले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यसहित निर्वाचन क्षेत्र विकास कोषबाट २३ लाखमा खरिद गरिएको बस विद्यालयका प्रधानाध्यापक अशोककुमार लुईंटेललाई हस्तान्तरण गर्नुभयो ।

यसैगरी विद्यालय परिसरमा संचालनमा ल्याइएको नर्सिङ कक्षको समेत राज्यमन्त्री विश्वासले उद्घाटन गर्नुभयो । हाल विद्यालयमा १२ सय ३४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार सरदारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button