Tune to BFM 91.2|Biratnagar

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाण्डौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०२ वर्षीय घिमिरेको काठमाडौंको लैनचौरस्थित निवासमा आज साँझ ५ ः ५५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल) छन् । उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभयो ।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो । बाल्यावस्थादेखि नै नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख –प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसंग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button