राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी

0
240

काठमाण्डौं, ७ माघ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनकै बीच सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने उल्लेख छ । बैठक मध्यान्ह १२ बजेपछि बस्ने गरी बोलाइएको छ । चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गर्दै डा. केसीले १६ औं अनसन सुरु गरेको आज १३ औं दिन हो । १५ औं पटकको अनसनमा भएका सहमति विधेयकमा उल्लेख गर्नुपर्ने उहाँको माग छ । सत्तारुढ दलका सांसदले शिक्षा तथा स्वास्थ्य समितिले प्रतिवेदन सहित पेस गरेको विधेयक हुबहु पारित गर्नुपर्ने बताएका छन् । यद्धपी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने डा. केसीले उठाएका माग सम्वोधन गर्नुपर्ने अडानमा रहेको छ । विधेयकमा भएको व्यवस्था अनुसार डा. केसीको माग तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको भन्दै संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी छ । यस्तै प्रतिनिधि सभाको आजको बैठकमा लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक टेवल हुने सम्भावित कार्यसूची छ । यसैबीच राष्ट्रिय सभामा आज दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ । विहान ११ बजे बस्ने बैठकमा जेष्ठ नागरिक सम्वन्धी पहिलो संसोधन विधेयक र विज्ञापन नियमन गर्ने विधेयकमाथी सैद्धान्तिक छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयकमाथी प्रतिनिधि सभाबाट भएको संशोधन उपर छलफल हुने सचिवालयका सहप्रवत्ता केशव अर्यालले जानकारी दिनुभयो । यद्धपी आफ्ना माग सम्वोधन नभए दुबै सदनका आजका बैठक अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी कांग्रेसको तयारी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here