रिना बस्नेत मृत्यु प्रकरण : हत्या नभएको पुष्टि

0
227

विराटनगर, ३० वैशाख । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित डेरा बसेको घर मुनी गत वैशाख ७ गते शनिबार विहान मृत फेला परेकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको हत्या नभएको अहिलेसम्मको अनुसन्धानले पुष्टि गरेको छ । घटनाको अन्तिम पोस्टमार्टम रिपोर्ट आज प्राप्त भएको छ । फरेन्सीक (विधि विज्ञान) ल्याब रिपोर्टसँगै प्राप्त भएको पोस्टमार्टमको अन्तिम रिपोर्टले उनको हत्या नभएको पुष्टि गरेको छ । शवको पोस्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । मृत्युको घटनालाई जोडेर तीन जनासँग गरिएको पोलिग्राफ जाँचको अन्तिम रिपोर्ट पनि सोमबार प्राप्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । प्रहरीले रिनासँगको कनेक्सनका आधारमा ५० जनासँग सोधपुछ र अनुसन्धान पनि गरेको थियो । रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ टेस्ट गरिएको थियो । डीएसपी श्रेष्ठका अनुसार घटनाका विषयमा फरेन्सीकसँगै प्राप्त भएको पोस्टमार्टम र पोलिग्राफ परीक्षणको अन्तिम रिपोर्टले रिनाको हत्या नभएको देखाएको छ । उनका प्रेमी भनिएका नेपाललाई भने प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । नेपाल अहिले पनि प्रहरी हिरासत मै छन् । रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छात्तीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको उल्लेख गरिएको श्रेष्ठको भनाइ छ । रिनाको शव निर्वास्त्र अवस्थामा फेला परेको थियो । श्रीमान सन्तोश बस्नेत वैदेशिक रोजगारीमा थिए । उनी १४ वर्षीय छोरासँगै वीरबहादुर बस्नेतको घरको तीन तलामाथि डेरा भाडामा लिएर बस्दै आएकी थिइन । रिनाको बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै पथरी उद्योगी वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर गरिएको आन्दोलनका कारण पथरी बजार वैशाख ९ र १० गते तनावग्रस्त बनेको थियो । प्रहरीले २९ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा भएको झडपमा परेर ५ स्थानीय र ३ प्रहरी पनि घाइते भए । आन्दोलनकै कारण मृत्यु भएको ९ दिनपछि वैशाख १५ गते मात्रै रिनाको अन्त्येष्टी गरिएको थियो । अहिलेसम्मको अनुसन्धान र सबै खाले रिपोर्टलाई जोडेर हेर्दा हत्या भएको र घटनामा कोही कसैको संलग्नता रहेको पनि नदेखिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । उहाँका अनुसार तीन तला माथिबाट झरेकाले लागेको गम्भीर चोटका कारण मृत्यु भएको कुरा पोस्टमार्टम र पोलिग्राफको अन्तिम रिपोर्टबाट पनि पुष्टि भएको छ । उद्यपी प्रहरीले अनुसन्धानको कामलाई भने निरन्तरता दिइरहेको जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here