Tune to BFM 91.2|Biratnagar

लकडाउनको पूर्ण पालना गर्न दलहरुको आह्वान

विराटनगर २४ चैत । प्रदेश १ का राजनीतिक दलहरुले लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् । प्रमुख राजनीतिक दलहरुको हिजो बसेको बैठकले लकडाउनबाट उत्पन्न परिस्थितिबारे ४ बुँदे निर्णय गरेको छ ।

दलहरुले भाईरसको संक्रमणलाई रोक्न सरकारले लगाएको लकडाउनमा केही मानिसहरु साँझको समय बिनाउद्देश्य हिँडडुल गर्ने गरेको पाइएको भन्दै दलहरुले लकडाउन पूर्ण रुपमा पालना गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् ।

उनीहरुले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकारलाई अनुरोध पनि गरेका छन् । बैठकले सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा संचालन गर्ने व्यवस्थाको लागि सरकारलाई आग्रह गर्ने र अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति संचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावसक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक संयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा संचालित क्वारेन्टाईन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाहीहरुको नियमित अनुगमन र सरकारलाई सहयोग गर्ने दलहरुले निर्णय गरेका छन् ।

बैठकपछि नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेपाली काँग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र प्रदेश संसदीय दलका नेता राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिब अशोक चेम्जोङ र समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष राजकुमार यादवले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button