Tune to BFM 91.2|Biratnagar

लकडाउनको विकल्प खोज्न प्रदेश सांसदहरुको माग

विराटनगर, २६ जेठ । प्रदेश नं. १ का प्रदेश सभा सदस्यहरुले कोरोना भाइरसले पारेको असर बारे व्याख्या गर्दै जनजीवन सामान्य बनाउन प्रदेश सरकारसंग माग गरेका छन् । प्रदेश नं. १ प्रदेश सभा बजेट अधिवेशनको आज बसेको बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले यस्तो माग गरेका हुन ।

सांसदहरुले कोरोना भाईरसको सम्भावित जोखिम नियन्त्रण एवं न्युनीकरण गर्न जारी गरिएको लकडाउनका कारण आम नागरिकको जनजीवनमा परेको असरप्रति गम्भीर हुन प्रदेश सरकारलाई आग्रह गरेका छन । बैठकको शुन्य समयमा बोल्नुहुँदै सांसद ज्योति सुब्बा, बिमल कार्की, राजकुमार ओझा र बसन्तीदेवी यादवले लकडाउनका कारण मध्यम वर्गीय र दैनिक ज्याला मजदुरी गरेर घरपरिवार चलाउनेहरुको जनजीवन कष्टगर बन्दै गएको उल्लेख गर्दै लकडाउनको विकल्प माग गर्नुभएको छ ।

उहाँहरुले कोरोना सङक्रमितहरुको उपचारका निम्ति विकास गरिएको पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा तिब्बत सरकारले दिएको भेन्टिलेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामाग्रीहरु प्रयोगमा ल्याउन प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।

कोरोना भाईरसका कारण रोजगार गुमाएकाहरुको उचित व्यवस्थापनका लागी प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने उहाँहरुको भनाई छ । त्यस्तै सांसद प्रतापप्रकाश हाङगामले पहाडी क्षेत्रमा सडक र विजुलीको समस्या अझै यथावत रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो ।

प्रदेश सभाको बजेट अधिवेशनको आजको वैठकमा प्रदेश वनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संसोधन परेकाले उक्त विद्येयक दफावार छलफलका लागी उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा पठाईएको छ ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफललाई भने आज पनि निरन्तरता प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button