Tune to BFM 91.2|Biratnagar

लकडाउनले डिडिसी पनि आर्थिक संकटमा

विराटनगर, २४ वैशाख । कोभिड–१९ र लकडाउनको कारण सरकारी स्वामित्वको दुग्ध विकास संस्थान पनि आर्थिक संकटमा परेको छ । संस्थानले उत्पादित दुग्धजन्य पदार्थ बिक्री गर्न नपाएपछि किसानको दूधको पैसा पनि तिर्न सकेको छैन ।

लकडाउनपछि ११ हजार किसानको १० करोड रुपैयाँ दूधको पैसा तिर्न सकेको छैन्। दूधको पैसा नपाउँदा किसानले गाईभैसीका लागि आवश्यक दानासमेत किन्न सकेका छैनन । विराटनगरस्थित आयोजनाले दुग्धजन्य पदार्थको यथेष्ट बिक्री नभएको भन्दै पूर्वका ११ हजार कृषकको १० करोडभन्दा बढी भुक्तानी रोकेको हो ।

इलामको सूर्याेदय नगरपालिका–१३ लक्ष्मीपुरस्थित लक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले आयोजनाले चैत पहिलो हप्तादेखि हालसम्म किसानले पाउनुपर्ने सबै भुक्तानी रोकेको जानकारी दिनुभयो । पौडेलका अनुसार भुक्तानी रोकिँदा किसानले गाईका लागि ब्रान, च्याँख्ला, दाना र चोकर खरिद गर्न सकिरहेका छैनन् । किसानले गाईलाई घाँस मात्र खुवाएर पालिरहेका छन् ।

अन्य आवश्यक आहार खुवाउन नसक्दा गाई दुब्लाएका छन् र यसको प्रत्यक्ष असर उत्पादकत्वमा परेको छ । संस्थानको विराटनगरस्थित आयोजनाका प्रमुख गणेश यादवले किसानलाई दूधको भुक्तानी दिन नसकेको स्वीकार गरे । प्रमुख यादवका अनुसार आयोजनामा उत्पादन हुने धूलो दूध, मखन र घिउ बिक्री नभएका कारण किसानलाई दूधको भुक्तानी गर्न नसकिएको हो ।

उहाँले विराटनगरस्थित आयोजनाको गोदाममा १ लाख २५ हजार किलो मखन, ९० हजार किलो धूलो दूध र १० हजार किलो घिउ बिक्री नभएर थन्किरहेको जानकारी दिनुभयो । आयोजनाले पूर्वका मोरङ, सुनसरी, झापा, धनकुटा, पाँचथर र इलाम गरी ६ जिल्लाका किसानबाट कच्चा दूध खरिद गरिरहेको छ । सबै जिल्लाका किसानले दूधको भुक्तानी पाउन बाँकी रहेको यादवले पुष्टि गर्नुभयो ।

यसैबीच लकडाउनका कारण आयोजनाले सोचेभन्दा धेरै स्किम्ड मिल्क पाउडर (एसएमपी) अर्थात स्किम्ड धूलो दूध उत्पादन गर्नु परेपछि बोराको अभाव सुरु भएको छ । किसानको दूध खेर जान नदिन र मिल्क होलिडे हुन नदिन आयोजनाले पूर्वका निजी क्षेत्रका डेरीले सङ्कलन गरेको दूधबाट एसएमपी उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button