Tune to BFM 91.2|Biratnagar

लकडाउन उल्लंघन गर्ने १ हजार २ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा

विराटनगर, २१ चैत । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउन उल्लंघन गर्ने ६ जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताउनु भयो ।

सवारी साधन चलाउने लगायत लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरिएको उहाँको भनाइ छ । घरमै बस्न र बाहिर ननिस्कनका लागि आग्रह गर्दा पनि अटेर गर्ने र सवारी साधन चलाउने गरेको पाइएपछि प्रहरी कडा रुपमा उत्रिएको छ ।

प्रहरीले आज बिहानसम्ममा लकडाउन उल्लंघन गरेर चलाइएका एक हजार दुई सय ४७ वटा सवारीसाधन मोरङबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारी साधनमा सात सय ७६ वटा मोटरसाइकल, ५२ वटा स्कुटर, २३ वटा कार र भेन, १४ वटा ट्याक्टर, २५ वटा ट्रक र तीन सय ३० वटा साइकल र ४० वटा सिटी सफारी तथा टेम्पो छन् ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले लकडाउनका समयमा घरभित्रै बस्न र बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको बताउनु भयो । लकडाउन उल्लंघन कोही कसैले गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने उहाँको भनाइ छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणको आशंकामा मोरङमा एक सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमा १० महिलार एक सय २६ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button