Tune to BFM 91.2|Biratnagar

लकडाउन का समयमा पनि तस्करी

विराटनगर, १५ चैत । विश्वभर फैलिएको ‘कोरोना भाइरस’ महामारीको असर नियन्त्रण गर्न नेपाल सरकारले ‘लकडाउन’ गरिरहेका बेला मोरङको सीमावर्ती क्षेत्रमा भने तस्करी धन्दा मौलाएको छ ।

‘लकडाउन’का समयमा कोही पनि सर्वसाधारणले घर बाहिर निस्कनै मिल्दैन । तर भारतको जोगवनी लगायतका बजारबाट हुने तस्करीले पछिल्लो समय तीव्रता पाएको छ । विराटनगर महानगरपालिका–१७ इश्लामपुर, रघुपति टोल, लाइन क्वार्टर, मटेर्वा, बुधनगर लगायतका दर्जनौ स्थान तस्करीको ट्रान्जिट बनेका छन् ।

हुलका हुल साइकलमा र पैदल नै जोगवनी पुगेर बोरा र झोलामा सामान बोकेर फर्किने समूह अहिले सक्रिय रहेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ । लर्को लागेरै सामान लिन जोगवनीसम्म जाने समूहलाई रोक्न सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी असफल बनेका छन् । कोरोना संक्रमण फैलन नदिन घरबाट निस्कन र हिँडडुल गर्न पूरै प्रतिबन्ध लगाइएको समयमा पनि सीमावर्ती क्षेत्रबाट दैनिक सयौंको संख्यामा जोगवनी आउजाउ भइरहेको छ ।

कोरोना संक्रमण दर उच्च भएको भारतले पनि त्यत्तिकै कडाई गरेको छ । तर ‘लकडाउन’ को उल्लंघन गरेर सुरक्षाकर्मीलाई छल्दै भारतीय बजार जोगवनी जाने र सामान लिएर आउनेहरुको संख्या भने दिन प्रतिदिन बढिरहेको स्थानीयको भनाइ छ । जसका कारण सीमा क्षेत्रका बासिन्दा त्रसित र आतंकित बनेका छन् ।

विराटनगर–१७ का स्थानीय शिक्षक भोजकुमार श्रेष्ठ बाहिर निस्कनै नमिल्ने र कोरोना संक्रमणबाट बच्न घर भित्रै बस्नु पर्ने अवस्थामा नेपाल–भारत आवतजावत कम हुन नसकेको गुनासो गर्नु हुन्छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको कम उपस्थिति र कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै निर्वाध रुपमा तस्करी भइरहेको उहाँको भनाइ छ । श्रेष्ठले कोरोनालाई लिएर नेपाल र भारत सरकारले कडाई गरे पनि ‘सेटिङ’मा सामान वारपार गर्ने क्रम नरोकिएको बताउनु भयो । नेपालमा तस्करी धन्दा चलाउनेहरुले जोगवनीका व्यापरीसँग ‘सेटिङ’ मिलाएर सामान नेपाल भित्राउने गरेको उहाँको भनाइ छ ।

‘लकडाउन’ को अवस्थामा पनि पारी (जोगवनी) जाने, सामान किनेर तस्करी गर्दै ल्याउने र वारी ल्याएर बेच्ने गिरोह सक्रिय रहेको स्थानीयको भनाइ छ । नेपाली सुरक्षाकर्मी र भारतीय भूमिमा परिचालित सीमा सुरक्षा वल (एसएसवी) ले कडाई गरिरहे पनि खुल्ला सीमानाका कारण आउजाउ पूर्ण रुपमा नियन्त्रण सम्भव नभएको बताइएको छ ।

श्रेष्ठका अनुसार नेपालबाट जानेहरुले जोगवनी पुगेर चामल, दाल, तेल, मसला लगायत दैनिक उपभोग्य वस्तु तस्करी गर्दै ल्याएर नेपालमा महँगोमा बेच्ने गरेको सुनाए । स्थानीय ट्यांकर चालक भानु अधिकारी सीमा क्षेत्रमा ‘लकडाउन’ उल्लंघन गर्दै तस्करी धन्दा चलाउनेको संख्या ठूलो रहेको बताउनु हुन्छ ।

जसका कारण नेपालको सीमावर्ती क्षेत्रमा पनि भारतबाटै रोग भित्रने सम्भावना बढेको उहाँको भनाय छ । सामान तस्करी गर्ने क्रममा संक्रमण दर उच्च रहेको भारतका नागरिकसँगको सम्पर्क र भेटघाटका कारण सीमा क्षेत्रमा जोखिम बढेको अधिकारीले बताउनु भयो । ‘तस्करी गरेर पैसा कमाउने लोभमा लापरबाहीपूर्ण तरिकाले आउजाउ र भारतीय नागरिकसँग भेटघाट गरेर फर्कदा कोरोना उतैबाट भित्रने त्रास बढेको छ,’ उहाँले भन्नु भयो, ‘यो क्रमलाई रोक्न सबै पक्षलाई आग्रह गरिए पनि आउजाउ रोक्ने प्रयास सफल हुन सकेको छैन ।

’ उनकाअनुसार संक्रमणबाट बच्न घरबाटै निस्कन नहुने अवस्थालाई सर्वसाधारण आफैले बुझ्नु पर्ने भए पनि ‘लकडाउन’लाई तस्करी गर्ने र कमाउने अवसरमा रुपमा लिएको पाइयो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नेपाल–भारत आउजाउमा सशस्त्र प्रहरीसँग समन्वय गरेर कडाई गरिए पनि शून्यमा झार्न नसक्नुमा मानिस सचेत नभएको प्रष्ट हुने बताउनु भयो ।

‘सबैतिर भयावह अवस्था छ । यो बेला एकअर्कासँग भेटघाट नगरिकन मान्छे सचेत भएर घरमै बस्नु पर्ने हो,’ उहाँले भन्नु भयो, ‘तर बुझेर पनि नबुझे जस्तो गरेको पाइयो । प्रहरी पुग्दा भागे जस्तो गरे पनि फेरी जम्मा भएर आउजाउ गरिहाल्छन् ।’ खुल्ला सीमाना कारण सीमा क्षेत्रमा संक्रमण जोखिम धेरै रहने भएकाले थप कडाई गर्ने तयारी थालिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button