लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसङ्ग्रह विमोचन
विराटनगर, २२ कात्तिक । साहित्यकार लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसंग्रहको शनिबार विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्मृतिको ‘तमासा’ मुक्तक संग्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, अग्रज साहित्यकार मधु पोखरेललगायतले मुक्तकसंग्रहको विमोचन गर्नुभएको हो । विमोचित कृतिका बारेमा साहित्यकार हरि कट्टेलले समीक्षा गर्नुभएको थियो ।
उहाले संग्रहभित्रका मुक्तकले हरेक विषयवस्तुलाई उठाएको चर्चा गर्नुभयो । अहिले मुलुकले भोगेको राजनीतिक, सामाजिक र आर्थिक व्यतिथिका साथै बेरोजगारी, अभाव, लैंगिक विभेदलगायतलाई संग्रहमा लेखकले सशक्त रुपमा प्रस्तुत गरेको समीक्षक कट्टेलको भनाइ थियो ।
समारोहका प्रमुख अतिथिसमेत रहनु भएका प्राज्ञ विवश पोखरेल, अन्तर्राष्ट्रिय साहित्य समाज कोशीका संयोजक रामबाबु दाहाल, अन्तर्राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका अध्यक्ष मधु पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाज विराटनगरकी अध्यक्ष ममता मृदुललगायतले शुभकामना व्यक्त गर्नुभयो ।
मुक्तक प्रतिष्ठान प्रदेश-१ ले प्रकाशित गरेको मुक्तकसंग्रहमा ३ सय ६ वटा मुक्तक समावेश गरिएको छ ।