Tune to BFM 91.2|Biratnagar

लडेर घाइते भएकी गर्भवतीको उपचार नपाएर गयो ज्यान

विराटनगर, १९ भदौ । लडेर घाइते भएकी मोरङको कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपाएकै कारण ज्यान गएको छ ।

विभिन्न अस्पताल पुर्याउँदा पनि सात महिनाकी गर्भवती रहेकी उनले उपचार पाउन सकिनन् । गत मंगलबारराति १० बजेतिर शौचालयमा उनी लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे पनि भोलिपल्ट स्वास्थ्य गम्भीर बन्दै गएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि विराटनगर ल्याएका थिए ।

परिवारका सदस्यले नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रीनक्रस, कोशी, सुरक्षा लगायतका अस्पताल पुर्याए । एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताउनु भयो । ‘धेरै अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको बहाना बनाए,’ उहाँले भन्नु भयो, ‘कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भन्ने जवाफ दिए ।’

कोरोनाका बेला बिरामी ल्याएकोभन्दै कोशी अस्पतालका नर्सहरुले भने हप्कीदप्की गरेको उहाँको गुनासो छ । विराटनगरका अस्पतालहरुमा उपचार नपाएकी सविनालाई बिहीबार बिहान लगभग २ः३० बजेतिर एम्बुलेन्समा राखेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दुर्गाले दिनु भयो ।

उहाँका अनुसार भर्ना लिएको प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गर्यो । तर प्रसूति कक्षमा पुर्याएर उपचार थालेको आधा घण्टा पनि नहुँदै सविनाको मृत्यु भएको जानकारी उहाँले दिनु भयो । सविनाका बुवा चन्द्र थापाले उपचार पाउने आशामा अस्पताल घुमाउँदा घुमाउँदै छोरीले मृत्युवरण गर्नु परेको बताउनु भयो ।

अस्पतालले लग्ने वित्तिकै उपचारसम्म सुरु गरिदिएको भए बाँच्ने अवस्था रहेकी छोरीले अकालमा ज्यान गुमाउनु परेको उहाँको गुनासो छ । सविनाका श्रीमान भरत दर्जीले पनि उपचारका लागि लागिएका अस्पतालले अस्वीकार गर्दा सात महिनाकी गर्भवती श्रीमती गुमाउनु परेको गुनासो गर्नु भयो । लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही भएको उहाँको गुनासो छ ।

भरतले श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी लँडाइमा जाने तयारीमा आफू रहेको पनि सुनाए । नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले आईसीयू खाली नभएकाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्था नभएको बताउनु भयो । अर्कातिर कोरोना त्रासका कारण नयाँ बिरामीको उपचार गर्न डाक्टर पनि डराउने गरेको उहाँको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार मात्रै सबै अस्पतालका सञ्चालक र चिकित्सकलाई छलफलमा बोलाएर उपचार नपाएर बिरामीको मृत्यु भएमा कारबाही अघि बढाउने चेतावनी दिनु भएको थियो । तर विभिन्न अस्पताल घुमाउँदा घुमाउँदै उपचार नपाएर घाइते अवस्थाकी गर्भवतीको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button