Tune to BFM 91.2|Biratnagar

लागुऔषधसहित दुई महिला विराटनगरबाट पक्राउ

विराटनगर, ३० असार । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले चलाएको विशेष ‘अप्रेशन’का क्रममा विराटनगर महानगरपालिका–१५ रानीबाट लागुऔषधसहित प्रहरीले दुई महिलालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुन रहेका छन् । उनीहरुले सञ्चालन गरेको चिया नास्ता पसलबाट लागुऔषध बरामद भएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पसलमा छापा मार्न एसपी खड्का आफै पुग्नु भएको थियो । पछि थप मद्धतका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा पनि टोली लिएर आउनु भयो । एसपी खड्काको नेत्रृत्वमा भएको विशेष ‘अप्रेशन’का क्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो ।

प्रयोग गरिसकिएका डाइलेक्स डीसीका पाँचवटा खाली बोतल पनि प्रहरीले बरामद गरेको छ । चिया बनाउने टेबुलका घर्रा र सोकेसबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक सहेदा खातुनलाई पनि पक्राउ गरेको हो ।

उनले चलाएको पसलको छेउमा भेटिएको झोलामा पाँच बोतल कोरेक्स नामक लागुऔषध फेला परेपछि खातुनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट केही व्यक्तिहरुले भारतको जोगवनी बजारदेखि ल्याएर लागुऔषध राख्ने र उक्त पसलबाट बिक्रीवितरण हुने गरेको खुलेको छ ।

लागुऔषध ओसारपसारमा केही व्यक्तिहरुको संलग्नता रहेको पाइएको र उनीहरु फरार रहेकाले खोजी तीव्र पारिएको एसपी खड्काले बताउनु भयो । पसलबाटै लागुऔषधसहित पक्राउ परेका महिलालाई कारबाही अघि बढाउन अनुसन्धान थालिएको एसपी खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button