लागुऔषध मुद्दामै निलम्बित प्रहरी फेरि लागुऔषधसहित पक्राउ

0
88

विराटनगर, २७ कात्तिक । सुनसरीको धरान उपमहानगरपालिका–६ घर भएका निलम्बित प्रहरी जवान ३५ वर्षीय सन्तोष तामाङ फेरि लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । यस अघि पनि लागुऔषध मुद्दामा निलम्बन गरेर कारबाही अघि बढाइएका उनी दोस्रो पटक लागुऔषधसहित पक्राउ परेका हुन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट उनी हिजो पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताउनु भयो । उहाँकाअनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा तामाङले लगाएको हेल्मेट भित्र लुकाएको अवस्थामा १५ ट्याब्लेट लागुऔषध नाइट्रोसन फेला पारेको थियो । उनी विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यस अघि इलाका प्रहरी कार्यालय धरानले गत असार २० गतेबाट लागु हुने गरी निलम्बन गरेर उनीमाथि लागुऔषध मुद्दा चलाएको थियो । धनकुटा दरबन्दी रहेका उनी जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीको गाडीका चालक थिए । घटनाअनुसार धरान रंगशाला पछाडि अर्का प्रहरी जवान दिपक तामाङ सर्वसाधारणलाई लागुऔषध दिँदै गर्दा गत असार १७ गते पक्राउ परे । दिपकलाई धरानकै ओम लिम्बू र दिलकुमार लिम्बूलाई चार सय क्याप्सुल स्पास्मोप्रोक्सिभन प्लस नामक लागुऔषध दिँदै गर्दा रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो । उहाँकाअनुसार ओम र दिलकुमारले प्रहरी जवान सन्तोष तामाङले अर्का प्रहरी जवान दिपकमार्फत इनरुवाबाट लागुऔषध पठाइदिएको बताएपछि सन्तोषलाई पनि धरान तानेर कारबाही अघि बढाइएको थियो । लागुऔषध मुद्दामा जिल्ला अदालत इनरुवाले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका प्रहरी जवान तामाङ दोस्रो पटक लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी पेशामा जोडिएका व्यक्ति पटक–पटक लागुऔषध जस्तो जघन्य अपराधको मुद्दामा जोडिएपछि गम्भीर ढंगबाट अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here