वंशज नागरिकता पाउनु पर्ने भन्दै विराटनगरमा प्रदर्शन

0
160

विराटनगर, २६ चैत । अंगिकृत नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता दिने कार्य रोक्न नहुने माग गर्दै विराटनगरमा आज प्रदर्शन गरिएको छ । जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशज नागरिकता प्रदान गर्न गृह मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध प्रदर्शन भएको हो । वंशजको नागरिकता वितरण थालिएको केही दिनमै रोक्नका लागि सर्वेच्चले हिजो आदेश दिएको थियो । जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशज नागरिकता दिन चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालायले परिपत्र गरेको थियो । त्यही परिपत्रका आधारमा २० गतेबाट वंशजको नागरिकता दिन थालिएको थियो । तर सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र गृहमन्त्री रामबहादुर थापा बादलका नाममा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि नागरिकता वितरण रोकिएको छ । नागरिकता पाउनु पर्ने माग गर्दै युवा युवतीले प्रशासन कार्यालय मोरङमा धर्ना पनि दिए । उनीहरुले तत्काल नागरिकता वितरण थाल्न माग पनि गरेका छन् । समितिका अध्यक्ष इरसाद खानले लाखौ नागरिकता विहीन युवाको भविष्यसँग खेलवाड गर्ने काम भएको बताउनु भयो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गृहको परिपत्रपछि थालिएको नागरिकता वितरण सर्वोच्चको आदेशका कारण रोकिएको बताउनु भयो । उहाँले हाल सम्म मोरङमा जन्मका आधारमा नागरिकता प्राप्त गरेको अंगिकृतका ८ सय ३ जना सन्तानले वंशजको नागरिकता लिएको जानकारी दिनु भयो । मोरङमा हिजोसम्ममा जिल्ला प्रशासन कार्यालयबाट ६ सय २३ , इलाका प्रशासन कार्यालय रंगेलीबाट १ सय ३० वटा र उर्लावारीबाट ५० वटा वंशजको नागरिकता वितरण भइसकेको छ । प्रजिअ केसीले सरकारको अर्को निर्देशन आउने वित्तिकै नागरिकता वितरणको काम अघि बढाइने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here