वनको काठ बिक्री गर्न नपाउँदा समस्या
विराटनगर,१५ माघ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा दुई करोड मूल्य बरावरको काठ कुहिने अवस्थामा पुगेको छ ।
घाटगद्दिमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकोले काठमा धमिरा लाग्ने,पानीले भिज्दा काठमा चिराचिरा पर्ने, कुहिने ,माटोले खाने र धोन्द्रो हुने जस्ता विद्यमान समस्या देखिएको छ।
मोरङको कानेपोखरी गाउँपालिका वडा नं –७ स्थित ग्रामीण सुधार सामुदायिक वन मूल समिति अन्तर्गत रहेको सामुदायिक वनले कटान गरी घाटगद्दीमा राखेको काठ सरकारले गएको जेठ १५ देखि सालको काठ बेचविखनमा रोक लगाएपछि सो साुमुदायिक वनको करिब १९ हजार क्यूविक काठ कुहिने अवस्थामा पुगेको समितिका अध्यक्ष नवीन राईले बताउनु भयो ।
काठ फुकुवा नहुँदा आमनागरिकलाई समस्यालाई समाधान गर्न व्यापारी एवं फर्निचर उद्यमीहरुले भारत सहित अन्य देशबाट सो अवधिमा करिब ४२ करोडको विभिन्न जातको काठ आयात गरेको एकीकृत भन्सार जाँच चौकी विराटनगरले जनाएको छ ।
काठ बिक्री गर्ने निर्णय चाँडै नभएमा घाटगद्दीमा रहेका काठ बिक्रीलाई योग्य नभई दाउराको रुपमा जाने अध्यक्ष राईले गुनासो गर्नु भयो । उहाँले अन्य सामुदायिक वनमा पनि घाटगद्दीमा काठ रहेको तर बेच्न नपाएर लाखौँ मूल्य बराबरको काठ दाउरामा परिणत हुने स्थितिलाई हटाउन सरकारले छिट्टै काठमा लागएको रोक फुकुवा गर्नु पर्ने माग राख्नुभयो ।