Tune to BFM 91.2|Biratnagar

वनको भवनमा आगो लगाउने साढे पाँच वर्र्षपछि पक्राउ

विराटनगर, २० साउन । मोरङको कानेपोखरी गाउँपालिका–६ (साविकको वयरवन गाविस –८) स्थित सामुदायिक वन उपभोक्ता समूहको भवनमा आगो लगाएर फरार बनेका एक युवा घटना गराएको साढे पाँच वर्षपछि पक्राउ परेका छन् ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत क्षेत्र नम्बर ३ को भवनमा आगजनी गरेर फरार बनेका कानेपोखरी– ६ का २४ वर्षीय सविरल राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो ।

पक्राउ परेका सविरलसहित अनिष राई र अमर लिम्बूले २०७१ साल फागुन १९ गते दिउँसो वन समूहको भवनमा आगजनी गरेको गिरीको भनाइ छ । आगजनीबाट कर्कटपाताको छानो भएको एक तले भवन पूर्ण रुपमा क्षति हुनुका साथै त्यहाँ रहेका फर्निचरका सामान र ४७ क्यूफिट सिसौको चिरान काठ जलेर ध्वस्त भएको थियो ।

घटनामा दुुई लाख २३ हजार पाँच सय रुपैयाँ बढीको क्षति भएको थियो । घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत मोरङले २०७२ साल असार २३ गते जनही तीन वर्ष छ महिना कैद सजायको फैसला गरेको थियो ।

अदालतले दोषी ठहर गरे पनि आगजनीपछि फरार बनेकामध्ये सविरललाई गाउँबाटै पक्राउ गरेर प्रहरीले जिल्ला अदालतमा पेस गरेको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अरु दुई जना अझैसम्म फरार रहेका कारण खोजी भइरहेको जानकारी डीएसपी गिरीले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button