Tune to BFM 91.2|Biratnagar

वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोह पक्राउ

विराटनगर, २० जेठ । मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । वन्यजन्तुको सिकार खेल्ने क्रममा भारुवा बन्दुकले लागेर सँगै गएका साथीको मृत्यु भएपछि फरार रहेकामध्ये चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् । बेलबारी प्रहरीका निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन केराबारी र लेटाङ क्षेत्रमा विशेष सर्च अप्रेशन चलाइएको थियो । घटना अनुसार गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यजन्तुको सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकले लागेर एक जनाको मृत्यु भएको थियो ।

डीएसपी राईका अनुसार सिकार खेल्न गएकामध्ये ३७ वर्षीय गजेन्द्र राईले मृगलाई हानेको भरुवा बन्दुकको छर्राले लागेर केराबारी–३ का ३२ वर्षीय हस्त राईको मृत्यु भाएको थियो । घटना भएको भोलिपल्ट गजेन्द्र र २६ वर्षीय रुविन लिम्बूलाई पक्राउ परे । ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा मुद्दा चलाउन प्रहरीले पक्राउ परेकाविरुद्ध म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button