वर्षासँगै मोरङमा सात सय ५५ परिवार प्रभावित

0
116

विराटनगर, २७ असार । निरन्तरको वर्षासँगै मोरङमा डुबानबाट सात सय ५५ परिवार प्रभावित बनेका छन् । आज साँझसम्ममा सात सय ५५ परिवारका ३५ सय बढी जनसंख्या पूर्ण रुपमा प्रभावित भएका हुन् । विशेष गरेर विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको मोरङका प्रमुख जिल्ला रमेशकुमार केसीले बताउनु भयो । उहाँका अनुसार लोहन्द्र खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन् । ‘डुबानबाट पीडित भएकाहरु घरमा बस्न सक्ने अवस्था नभएपछि विस्थापित नै भएका छन्,’ प्रजिअ केसीले भन्नु भयो, ‘उनीहरुलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिर, सार्वजनिक र सुरक्षित स्थलमा राखिएको छ ।’ मानविय क्षति नभए पनि निरन्तरको वर्षाले धेरै क्षेत्र घर परिवार डुबानको चपेटामा परेको उहाँको भनाइ छ । विराटनगर महानगरपालिकाको १, ६, ८ र १६ नम्बर सबै भन्दा बढी प्रभावित बनेका छन् । विशेष गरेर सुकुम्बासी बस्ती बढी प्रभावित बनेको र सबै जसो घरमा बाढी पसेर डुबान भएको केसीले बताउनु भयो । कतिपय ठाउँमा स्थानीय तहको सक्रियतामा सामान्य किसिमको राहत बाँड्ने काम सुरु भएको जानकारी उहाँले दिनु भयो । विभिन्न जोखिमयुक्त ठाउँमा उद्धारका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आज दिउँसोबाट पानी पर्न केही कम भएकाले उद्धारमा थोरै सहज भएको प्रजिअ केसीले बताउनु भयो । सम्भावित जोखिमयुक्त ठाउँका सर्वसाधारणलाई पनि सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । कटहरीको १, २, ३, ४ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताउनु भयो । कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेको उहाँले बताउनु भयो । कामतले वडा नम्बर ६ मा पनि पाँचवटा घर कटानमा परेको बताउनु भयो । कटहरी– ४ स्थित गन्नु टोल चौतर्फी पानीले घेरिदाँ केहीमा मानिस घरभित्रै फसेको र उनीहरुको उद्धार गरिएको कामतको भनाइ छ । पानीको सहत बढेसँगै लोहन्द्रा खोलो गाउँ पसेपछि सयौं परिवार असुुरक्षित बनेका छन् । खोलाले बगाएर ल्याएको झ्यासले कटहरी र धनपालथन जोड्ने पक्की पुल थुनिने सम्भावना बढेपछि सफाईका लागि एक्साभेटरसहितको प्रहरी टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । कटहरी–३ का अशोक भगतले बिहान ७ बजे आफ्नो घरमा बाढीसहितको पानी पस्न थालेको बताउनु भयो । साँझसम्ममा टाटीले बेरा लगाएर बनाएको उनको घरको आधा जति भाग डुबानमा परिसकेको थियो । रंगेली–विराटनगर सडक खण्डमा रहेको घरमा बाढी पसे पनि निकाल्न नसक्दा सामान भने घर भित्रै रहेको भगतले बताउनु भयो । कटहरी–३ का उमेशकुमार साहले खोला जस्तै बनेर पसेको बाढीले घर नै बगाउन लागेको बताउनु भयो । उहाँले घर नै बग्न लागेपछि परिवारका सदस्य खुला ठाउँमा बसिरहेको बताउनु भयो । बिहानदेखि आएर विभिन्न व्यक्तिहरुले पीडितका रुपमा सोधिखोजी गरिरहे पनि पानीको उचित निकास नहुँदा बेलुका कहाँ बस्ने भन्ने चिन्ताले सताएको पीडितहरुको गुनासो छ । कटहरी–३ का वडा अध्यक्ष जदुलाल कामतले वर्षाले धेरै समस्या बनाएपछि पानीको निकासका लागि आफू बिहानैदेखि एक्सभेटरसहित निस्किएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here