वायोग्याँस प्लान्ट विस्तारमा समस्या

0
113
?

विराटनगर, २० कात्तिक । २०७५ भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौ–सेवा सदन समितिमा उद्घाटन गरेको वायोग्याँस प्लान्ट विस्तारमा समस्या भइरहेको छ । सम्बन्धित निकायको चासो र प्राथमिकतामा जैविक फोहरबाट वायोग्याँस पाइपलाइन नमूना परियोजना नपरेपछि विस्तारमा समस्या भइरहेको हो । स्थानीय सेवाग्राही र समितिबीच ग्याँस उपभोगका क्रममा तिर्नुपर्ने रकम निर्धारण हुन नसक्दा पाइपलाइन विस्तार हुन नसकेको हो । गौ–सेवा सदनले उद्घाटनकै समय ३५ घरमा ग्याँस पुर्याइने र त्यसपछि ४८ र विस्तारै करिब ७० घरमा सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । सुरुआती दुई महिना परिक्षणकालको रुपमा सञ्चालनमा आएको ग्याँस प्लान्टले गएको १४ महिनामा गौ सेवा सदन नजिकका करिब ३१ घरधुरीका उपभोक्तालाई मात्रै सेवा दिइरहेको छ । गौ–सेवा सदन समितिका अध्यक्ष शंकरलाल अग्रवालका अनुसार परियोजनाले विस्तारै गतिलिने छ । समितिका अनुसार हाल अधिकांश उपभोक्ताले सम्झौता अनुसार ग्याँस प्रयोग गरेबापतको पूरा रकम भुक्तानी गरेका छैनन् । पुरानो बक्यौता असुल गरेपछि ग्याँस उपभोगवापत उपभोक्ताबाट ४० रुपैयाँ प्रति युनिट लिनुपर्ने योजनामा समिति रहेको छ । अर्कोतर्फ स्थानीय उपभोक्ता भने समितिलाई ४० रुपैयाँ प्रतियुनिट तिर्नुपर्दा एलपी ग्याँसकै रकम बराबर हुने भएकाले मर्का पर्ने बताउँछन् । गौ–सेवाबाट बायोग्याँस प्रयोग गर्दै आएका स्थानीय भुवन दाहालका अनुसार समितिले एकतर्फी ग्याँसको मूल्य तोक्ने काम गर्दा उपभोक्ता मर्कामा पर्ने छन् । ‘यसअघि पनि समितिले ४० रुपैयाँ, त्यसपछि ३५ रुपैयाँ र पछिल्लोसमय २५ रुपैयाँ प्रति युनिट रकम तोकेको छ । यसले पनि प्लान्ट सञ्चालन र सेवाग्राहीप्रति समिति अन्योलमा रहेको देखिन्छ, ’ दाहालले भन्नु भयो । विगत २४ वर्षदेखि सदनमा सेवा गर्दै आएका समितिका सदस्य मोहीचन्द्र यादव भने एलपी ग्याँसभन्दा छिटोछरितो र कम खपत हुने भएकाले वायोग्याँस प्रयोग गर्न सहज हुने बताउनु हुन्छ । एक सय २५ वटा ठूलो वृद्ध गाईसहित कुल दुई सय सातवटा गाई पाल्दै आएको सदनले प्लान्टका लागि दैनिक करिब एक हजार पाँच सय किलोग्राम गोबर आवश्यक्ता पर्ने जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, विश्व बैंक तथा जलवायु लगानी कोषको सहयोगमा नवीकरणीय उर्जा विस्तार आयोजनाको एक करोड ११ रुपैयाँ, गौ सेवा सदनको २७ लाख रुपैयाँ र विराटनगर महानगरपालिकाको १२ लाख रुपैयाँ गरि कूल एक करोड ५० लाख रुपैयाँको लागतमा यस बायोग्याँस पाइपलाइन नमूना परियोजनाको निर्माण भएको हो । परियोजना दुई सय घनमिटर क्षमताको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here