वायो ग्यास विस्तारमा सरकारी असहयोग

0
71

विराटनगर, २४ पुस । सरकारी स्तरबाट असहयोग हुँदा विराटनगर १४ स्थित श्रीकृष्ण गौ सेवा सदनबाट उत्पादित वायो (गोबर) ग्यास विस्तारमा समस्या भएको छ । गत भदौ ५ गते श्री कृष्ण गौ सेवा सदनबाट उत्पादित वायो ग्यास वितरण प्रक्रियाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्नु भएको थियो । त्यतिबेला ३२ घरले सिलिण्डरको विदाई गरेको र वायो ग्यास चलाउन थालेको घोषणा गरिएको थियो । तर अहिले सम्म ग्यास विस्तारका लागि सरकारले कुनै सहयोग गरेको छैन । असोज भित्र स्थानीय ४८ घरमा उपलब्ध गराउने भनिएको थियो । श्रीकृष्ण गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले आश्वासन पाए जस्तो सरकारी तवरबाट कुनै सहयोग नभएको बताउनु भयो । एक करोड ५० लाख लागतमा दुई घन मिटरको वायो ग्यास प्लान्टबाट ग्यास उत्पादन हुँदै आएको छ । गौशालमा रहेका दुई सय पाँचवटा गाईबाट दैनिक दुई मेट्रिकटन उत्पादित गोबरको प्रयोगबाट निकालिएको वायोग्यास ३२ घरमा जडान गरिएको छ । उर्जा क्षेत्रमा राज्य आत्मनिर्भर हुने अभियानमा अग्रसर भइरहेको बताउँदै आएको सरकारले यसको विस्तारमा सहयोग नगर्दा भने स्थानीय चिन्तित छन् । वैकल्पिक उर्जाको प्रयोगकालागि स्थानीय स्तरबाट यत्रो परियोजना संचालन हुँदा पनि सरकारले कुनै चासो नदिएको अध्यक्ष अग्रवालले बताउनु भयो । उहाँले गौ सेवा सदनको पर्खालमा सोलार प्लान्ट जडान गरे एक मेगावाट विजुली उत्पादन गर्न सकिने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here