Tune to BFM 91.2|Biratnagar

विएफएमको १५ औं वार्षिकोत्सवका अवसरमा वरिष्ठ गायक एलपी जोशी सहित दुई जनालाई सम्मान

विराटनगर ८ फागुन । विराटनगरस्थित विएफएमको १५ औं वार्षिकोत्सवका अवसरमा वरिष्ठ गायक एलपी जोशीसहित दुई जनालाई सम्मान गरिएको छ ।हिजो विएफएमको प्राङ्गणमा आयोजित कार्यक्रममा विगत साढे ६ दशकभन्दा लामो समयदेखि लोकगीत र लोकसंस्कृतिको विकास र समृद्धिमा लागेबापत गायक जोशी र रंगकर्मी भैरव क्षेत्रीलाई सम्मान गरिएको हो । जोशीले ‘रिटिङरिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो’, कान्छी मट्याङट्याङ लगायतका चर्चित गीत गाउनु भएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, प्रदेश १ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङ, विएफएमका कार्यकारी निर्देशक डा. सन्देश दास श्रेष्ठलगायतले दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गर्नुभएको थियो । त्यस्तै सोही अवसरमा आयोजित खुल्ला गजल प्रतियोगितामा खोटाङका केशव भण्डारी कञ्चन प्रथम हुनु भएको छ । साहित्यकार दिङ्लाली कान्छो र सुविद गुरागाईंको निर्णायक समितिले विजेताको घोषणा गरेको थियो ।

त्यसैगरी मोरङका नेत्र खतिवडा द्वितीय, सुनसरीका प्रमोदकुमार मण्डल र विराटनगरकी अजिता प्रधान तृतीय हुनु भयो । उहाँहरुलाई क्रमशः ५ हजार, ३ हजार १५ सय नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । देशभरबाट प्राप्त १ सय ४६ वटा गजलमध्ये वाचनका लागि छनौट गरिएका २८ वटा गजलमध्येबाट चार जनालाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्यकार राधिका गुरागाईं, वासुदेव न्यौपाने, भरत गुरागाईं, निशा खुसीलगायतले पनि अप्रतियोगी सिर्जना प्रस्तुत गर्नुभएको थियो । समाचार संयोजक नेत्रपी अधिकारीले स्वागत गरेको कार्यक्रममा कार्यक्रम प्रस्तोता राधा मण्डलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उमा पोखरेल र आशुतोश कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button