विधेयक विरुद्ध पत्रकार आन्दोलित

0
297

विराटनगर, १ जेठ । संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधान प्रति विरोध जनाउँदै मोरङका पत्रकार आन्दोलित बनेका छन् । मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको थियो । प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा मोरङका पत्रकारले पनि साथ दिएका हुन् । विधेयकको प्रावधान प्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलन अन्तर्गत आज हातमा कालो पट्टी बाँधेर पत्रकारहरु कार्यक्षेत्रमा खटिएका छन् । पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर सरकारको कदमको विरोध गरेका हुन् । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले प्रेस स्वतन्त्रता विरोधी विधेयकको विरोधमा आन्दोलन गर्नु परेको जानकारी दिनु भयो । उहाँले संचार सामग्रीसहित प्रदर्शन गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको बताउनु भयो । प्रेस युनियनका उपाध्यक्ष लीलाबल्लभ घिमिरेले सरकारले पत्रकारको घाँटी निमोठ्ने गरी ल्याउन लागेको कानुन मान्य नहुने बताउनु भयो । पत्रकारहरुले निर्भयका साथ काम गर्न पाउनु पर्ने माग उहाँले गर्नु भयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले कानुन बनाउने नाममा सरकारले पत्रकारको घाँटीमा खतरनाक तरवार झुन्ड्याउन लागेको बताउनु भयो । ‘समाचार लेखेकै विषयमा पत्रकारले लाखौं रुपैयाँ जरिवाना तिर्नु पर्ने कानुन बनाउन खोजिनु दुखद् हो,’ गौतमले भन्नु भयो, ‘समाचार लेखेकै कारण पत्रकारले जेल जानु पर्ने अवस्थाको सिर्जना गरिएको छ ।’ उहाँले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले संविधानले प्रदत्त गरेका सूचनाको हकलाई समेत संकुचन गर्ने बताउनु भयो । गौतमले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने सरकारका हरेक कदमको खुलेर विरोध गर्न सबैलाई आग्रह गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here