विपत व्यवस्थापन कोषमा प्याब्सन सुन्दरहरैंचाको ५ लाख
विराटनगर, २५ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुन्दरहरैंचा मोरङले नगरपालिकाको विपत व्यवस्थापन कोषलाई राहत हस्तान्तरण गरेको छ ।
प्याब्सन नगर समितिले ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ बराबरको १२ हजार ६ सय ३८ किलो चामल हस्तान्तरण गरेको जनाएको छ ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर तथा विपन्न समुदायका व्यक्तिलाई सहयोग पुगोस् भनेर प्याब्सन सुन्दरहरैंचाले चामल उपलब्ध गराएको प्याब्सन नगर अध्यक्ष हरिश्चन्द्र ढकालले बताउनुभयो ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङलाई चामल उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
सुन्दरहरैंचा नगरपालिकाका अनुसार ५२ हजार ९ सय ५ किलो चामल २ हजार ५ सय २० किलो दाल, ५ हजार ५ सय २५ किलो नुन १ सय २५ लिटर तेल जम्मा भइसकेको छ ।