विपन्न वर्गलाई ११ दिनदेखी खाना खुवाउदै युवा अभियन्ताहरु
बिराटनगर २८ चैत । बिश्वब्यापि रुपमा फैलीरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमण बाट जोगिन नेपाल सरकारले गत चैत ११ गते बाट लकडाउन घोषणा गरेको छ। बिराटनगरमा लकडाउन घोषणा गरेसंगै दैनिक काम गरेर गुजारा चलाउने परिवारको दैनिकी भयाभव भएको छ।
दैनिक काम गरेर बिहान बेलुका छाक टार्ने परिवारहरुको समस्या समाधान गर्नका लागी बिराटनगरका युवा अभियन्ता पेरीस सुवेधी ,वसिम आलम र पप्पु अन्सारी लगाएतको समुहले खाना खुवाउने काम गरिरहेको छ ।
आज विहान वीएफएमसँग को कुराकानीमा सुवेधीले दैनिक मागेर बिहान बेलुका छाक टार्ने,सडकमै सुत्ने ब्यत्तीलगाएत अन्य दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्ने बिभिन्न ब्यत्तीहरुलाई लगातार ११ दिनदेखी खाना खुवाइरहेको बताउनुभयो ।
लकडाउनका बेला काम गर्न नपाएकाहरू भोकभोकै परेको देखेपछि समूहले दाताहरूबाट प्राप्त सहयोगले विपन्न वर्गलाई खाना खुवाइरहेको सुवेधीले बताउनुभयो । खास गरी दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्नेहरूलाई बसिरहेकै ठाउँमा पुगेर खाना दिने गरेको उहाको भनाई छ ।
दैनिक ज्यालादारीबाट निर्वाह गर्दै आएका विपन्न समुदायलाई खाना खुवाउँदै आएको युवा समूहले उनीहरूको स्वास्थ्य जाँचसमेत गराएको छ । सडकमै बसिरहँदा संक्रमण र अरू स्वास्थ्य समस्या हुन सक्ने भन्दै जाँच गरिएको सुवेधीले बताउनुभयो ।सुरक्षित रहन मास्क दिइएको सुवेदीले बताउनुभयो ।
विराटनगर महानगरका विभिन्न वडा, बसपार्क क्षेत्र, कलेज रोड, हाटखोला, कोसी अस्पताल आसपास, गुदरी बजार, हनुमान मन्दिर, कोसी राजमार्ग आसपास बसिरहेका विपन्नलाई खाना खुवाइएको सुवेदीले बताउनुभयो ।
महानगर र आसपासका १२ वटा मुसहर बस्ती, १४ वटा सुकुम्बासी बस्ती, वृद्धाश्रम, मानव सेवा आश्रममा बसिरहेकाहरूलाई पनि सहयोग गरेको उहाले बताउनुभयो ।