विप्लवका सैन्य विभाग प्रमुखमाथि थाल्यो प्रहरीले अनुसन्धान

विराटनगर, ३१ असार । मोरङको उर्लाबारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरा ‘जोखिम’माथि विभिन्न १० स्थानमा अपराधिक गतिविधी गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उर्लाबारी नगरपालिका–३ बाट बोहरालाई प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले हिजो पक्राउ गरेको हो । विभिन्न स्थानमा बम विष्फोट र आगजनी गरेको घटनामा संलग्न रहेको पाइएपछि कालिकोटको फेनेली घर भई उर्लाबारीमा बस्दै आएका उनीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बोहरालाई प्रहरीले एउटा कटुवा पेस्तोल, थ्रीनट थ्री राईफलको तीन राउण्ड गोली, सकेट बम, डेटोनेटर, नेपाल टेलिकमका सातवटा र एनसेलका दुुईवटा सीमसहित पक्राउ गरेको थियो । उनको साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, एउटा मोबाइल, पेनड्राइभ, कम्प्युटरको हार्डडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार बम बिष्फोट, आगजनी, बम राख्ने र हातहतियार सम्बन्धी मुद्दामा बोहरामाथि अनुसन्धान थालिएको छ । उनलाई मोरङको पथरीशनिश्चरे र सुन्दरहैँचा नगरपालिकामा बम राखेको आरोप लगाइएको छ ।

मोरङ पथरीशनिश्चरे –१ स्थित पूर्व–पश्चिम राजमार्गमा २०७४ चैत १२ गते सकेट बम भेटिएको थियो । २०७६ साल जेठ १३ गते सुन्दरहरैँचा –७ ठडियास्थित पूर्व–पश्चिम राजमार्गमा कुकर बम भेटिएको थियो । प्रहरीले मोरङको मिक्लाजुङ, केराबारी, इटहरी, धरान, बिर्तामोडका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा उनीमाथि अनुुसन्धान थालेको छ ।

२०७६ माघ ५ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ साकेलाथानमा तीनवटा स्काभेटरमा बम बिस्फोट र आगजनी भएको थियो । केराबारी गाउँपालिका–१० स्थित गाउँपालिकाको कार्यालयमा माघ १० र माघ १२ मा केराबारी–२ स्थीत एनसेल टावरमा बम विष्फोट भएको थियो ।

२०७६ भदौ २३ गते झापाको बिर्तामोड– २ चारपानेमा साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणाधिन भवनमा पनि विष्फोट गराइएको । त्यस्तै भदौ २० मा सुनसरीको इटहरी उपमहानगरपालिका– ९ मा रहको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा र सोही दिन धरान– १९ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुुलको गेटमा बम बिष्फोट भएको थियो ।

यी सबै घटनामा बोहराको संलग्न रहेको पाइएको डीएसपी राईले बताउनु भयो । संखुवासभा, भोजपुर लगायतका जिल्लामा हातहतियार सम्बन्धी र विष्फोटका विभिन्न घटनामा उनको संलग्नता रहेको दाबी प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button