Tune to BFM 91.2|Biratnagar

विप्लव समूहले हत्या गरेका शिक्षकको शब परिवारले बुझे

विराटनगर, २४ मंसिर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको शव परिवारले बुझेका छन् । श्रेष्ठको शव आज दिउँसो आफन्त र परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएपछि आफन्तले बुझेका थिए ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय श्रेष्ठको बर्बरतापूर्ण ढंगले हिजो बिहान हत्या गरिएको थियो । घरैबाट अपहरण गरेर लग्दै आधा घण्टा परको जंगलमा पुर्याएपछि आफ्नै नियन्त्रणमा राखेर ‘विप्लव’ समूहले श्रेष्ठको हत्या गरेको हो । हात बाँधेर घाँटी रेट्दै विभत्स तवरबाट मारेर फ्यालेको अवस्थामा शव भेटिएको थियो । ‘विप्लव’ समूहले हिजै साँझ विज्ञप्ति सार्वजनिक गर्दै विगतको सशस्त्र युद्धकै झल्को दिने घटनाको जिम्मा लिएको छ ।

मिक्लाजुङको उत्तरी क्षेत्र अति नै दुर्गम र विकट रहेकाले सुरक्षाकर्मीको पहुँच पुग्न नसक्दा आफ्ना गतिविधी सञ्चालनदेखि संरचना तयार र विस्तार गर्दै सो घटना गराउन विप्लव समूहलाई सहज भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसैबीच शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र आसपासको क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । घटनास्थललाई चारैतिरबाट घेरा हालेर सर्च गर्दै हत्या गर्नेको खोजी थाल्न प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले निर्देशन दिनु भएको छ । हत्यामा संलग्नको खोजी र पहिचानका लागि प्रदेश प्रहरी कार्यालयबाट पनि विशेष टोली उहाँले खटाउनु भएको छ ।

विप्लव समूहले व्यक्ति हत्याको सृङ्खला सुरु गरेसँगै पछिल्लो घटनाले थप हिंसा बढाएर लैजानसक्ने विश्लेषण सुरक्षा निकायको छ । शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा डुबेको छ । गाउँमा विकास प्रेमी, समाजसेवी र शैक्षिक उन्नयनकर्ता भनेर चिनिने उनको हत्याले सबैलाई मर्माहत बनाएको वडा अध्यक्ष नरबहादुर राईले जानकारी दिनु भयो । शिक्षक श्रेष्ठको हत्यालाई प्रदेश १ सरकारले अपराधिक, अमानवीय र निन्दनीय घटना भनेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आज एक विज्ञप्ति जारी गर्दै घटनाको प्रभावकारी अनुसन्धान थालिएको जानकारी दिनु भयो । प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विभिन्न सुरक्षा निकाय र अनुसन्धान टोलीलाई घटनास्थलमा खटाइसकिएको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button