विराटनगरबाट भन्सार छलीको कपडासहित एकजना पक्राउ
विराटनगर, २८ मंसिर । प्रहरीले विराटनगर महानगरपालिका–६ सरोचीयाबाट भन्सार छलीको कपडासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट तस्करी गरेर ल्याउँदै आशिफ खानले घरमा भण्डारण गरेर राखेको अवस्थामा एक लाख ६२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।
उहाँका अनुसार कपडा तस्करीमा संलग्न खानलाई पनि शनिबार साँझ ७ः४५ बजेतिर पक्राउ गरिएको छ । प्रहरीले दुई सय ४० पिस सुइटर, ८४ पिस सरवार र १५ पिस कुर्तासहितका अवैध कपडा बरामद गरेको हो ।
डीएसपी राईका अनुसार बरामद गरिएको कपडासहित पक्राउ परेका खानलाई आवश्यक कारबाहीका लागि आज विराटनगर भन्सार कार्यालयमा बुझाइने छ । मोरङ प्रहरीले पछिल्लो समय अवैध रुपमा भन्सार छली गरेर ल्याइएका कपडा लगायतका सामान नियन्त्रण गर्ने क्रमलाई तीव्र पारेर लगेको छ ।
गत शुक्रबार विराटनगर–७ मा तरुणकुमार रौनियारको गोदामबाट तस्करी गरेर ल्याई भण्डारण गरेर राखेको अवस्थामा ३३ लाख ४१ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध आयात र निर्यात नियन्त्रणका लागि विशेष अप्रेसन चलाइएको जानकारी दिनु भयो ।
उहाँका अनुसार तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष निगरानी बढाएर कडाई गरिएको छ ।