विराटनगरका दुगड प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त
बिराटनगर ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरका उद्योगी तथा पूर्व आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गर्नुभएको छ ।नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २९ गतेको निर्णयाअनुसार दुगडलाई मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार पदमा नियुक्ति गरेको पत्र सार्वजनिक भएको हो ।
‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति पुस २९ को निर्णयानुसार यहाँलाई नेपाल सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ मुख्यसचिव शंकरदार बैरागीले दुगर्डलाई पठाएको पत्रमा उल्लेख छ ।
दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा राज्य उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्नुभएको थियो । गत पुस १० गतेको मन्त्रीमण्डल पुनर्गठनमा दुगर्ड उक्त मन्त्रि पदबाट हटाउँदै सो स्थानमा बिमला विश्वकर्मालाई ल्याइएको थियो ।