विराटनगरका ४७ स्थानमा वस बिसौनी निर्माण हुने

0
131

विराटनगर, १० मंसिर । विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ । यसका लागि आर्थिक वर्ष २०७४÷७५ मै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो । जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बसबिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार सबैस्थानमा निर्माण कार्य सम्पन्न भइ महानगरलाई हस्तान्तरण गरेपछि, कम्पनीले प्रत्येक स्थानबाट बार्षिक ३० हजार रुपैंया राजस्व महानगरलाई बुझाउने छ । महानगरको पुष्पलाल चौक र धरान विराटनगर सडकखण्डस्थित भृकुटी चौकमा विसौनीको निर्माण भइरहेको छ । जहाँ यात्रुवहाक बस रोक्ने, यात्रु चढाउने ओलार्ने कार्य हुनेछ । त्यसैगरि, पछिल्लोसमय महानगरमा बढ्दो ट्राफिकजामको समस्या हल गर्न महेन्द्रचौकदेखि भृकुटीचौकसम्म करिब ४ स्थानमा तत्काल आइल्याण्ड लगाउने महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बिसौनी निर्माणका क्रममा केहीस्थानमा समस्या आएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘कतिपय स्थानमा महानगरकै पदाधिकारी निर्माणस्थल पुग्नुपर्ने, स्थानीयमाझ सहजीकरण गर्नुपर्ने अवस्था छ ।’ महानगरले आकृतिलाई कम्तीमा १० वर्षको लागि ती स्थान भाडामा दिने र त्यसपछि पुनः नवीकरण गरि सम्झौता अघि बढाउन सक्ने प्रावधान रहेको जनाएको छ । बस विसौनी सेडमा विद्युत, मोबाइल चार्जिङ गर्न सकिने व्यवस्था हुनेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here