Tune to BFM 91.2|Biratnagar

विराटनगरको बजेट ४ अर्व १० करोड

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ४ अर्व १० करोड ३ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयषे ।

महानगरपालिकाले प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड खर्च हुने अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहेको प्रस्तुत बजेटमा उल्लेख छ । महानगरले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत संघीय सरकारबाट १ अर्व १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्व एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५ सय, संघ–संस्थाबाट १ करोड ४४ लाख, जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ । नगरसभामा प्रस्तुत बजेटमा पुँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

महानगरले वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तराष्ट्रिय सभाहलको जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ । विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकालिन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड विनियोजन गरेको छ । महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षा तर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुद तर्फ १ करोड ६१ लाख, स्वास्थ्य तर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले गत आर्थिक वर्ष ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेकोमा पछिल्लो १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ । यस अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरेको भएपनि ८८ करोड मात्र खर्च गर्न सकेको छ । महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भएपनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख मात्र आम्दानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button