Tune to BFM 91.2|Biratnagar

विराटनगरको बरगाछीमा बस दुर्घटना

विराटनगर, २३ पुस । एक युवाले चलाएको बस विराटनगर महानगरपालिका–३ बरगाछीमा गय राति दुर्घटनामा परेको छ । सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्कीले चलाएको को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस राति ११ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । पार्किङ गरेर राखेको स्थान विराटनगर बसपार्कबाट राति ११ बजेतिर कार्कीले लिएर गएको र लगभग दुई किलोमिटर उत्तरमा बरगाछी पुर्याएपछि दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ । साँझ पार्किङ गरेर बसपार्कमा राखेपछि चालक सिरहाको लहान–१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला कार्कीले बस आफूखुसी लिएर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

बसले किचिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि लगिएका कार्की पनि मदिराको नशामा लट्ठ रहेको राईले बताउनु भयो । उहाँका अनुसार कार्की अत्याधिक मदिरा सेवन गरेर होसमा नभएका कारण बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बस सडकको विपरीततिर गएर दुर्घटनामा परेको छ । उत्तरतर्फ गइरहेको बस छ लेन सडक पार गर्दै पूर्वतर्फ अर्थात चालकको दायाँतिर पुगेर बिजुलीको पोलमा ठोक्किएको डीएसपी राईले बताउनु भयो ।

बस ठोक्किएपछि बिजुलीको पोल भाँच्चिएको जानकारी उहाँले दिनु भयो । दुर्घटनापछि पोल भाँच्चिएर अगाडि पुगेको बसले एसबीआई बैंकको एटीएम बुथ रहेको सटरमा पनि क्षति गरेको राईको भनाइ छ । दुर्घटनामा परेर घाइते भएका कार्कीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ । ‘दुर्घटना भयानक हिसाबको भए पनि रातको समय र मानिसको चहलपहल कम भएकाले ठूलो क्षति हुन पाएन,’ राईले भन्नु भयो, ‘घटनास्थलमा पुगेको प्रहरीले भाँच्चिएको बिजुलीको पोल र पोलसँगै भुइँमा लत्रिएका एवं छिनेका तारहरु तथा दुर्घटनामा परेको बस हटाएर सडक सुचारु गरेको हो ।

’ भाँच्चिएको बिजुलीको पोल, छिनेका तार र बसका कारण कोसी लोकमार्गको सडक अवरुद्ध बनेको थियो । डीएसपी राईले बस कार्कीले कहाँ र किन लिएर गएका हुन्भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने जानकारी पनि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button