Tune to BFM 91.2|Biratnagar

विराटनगरको रानीमा ‘होल्डिङ सेन्टर’ बनाइँदै

विराटनगर, २८ वैशाख । विराटनगरको रानीमा एक हजार क्षमताको ‘होल्डिङ सेन्टर’ बनाउने प्रक्रिया अघि बढाइएको छ । विराटनगर जुट मिल्सको खाली तथा अतिक्रमित जग्गालाई सदुपयोग गर्दै ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकाभित्र ‘होल्डिङ सेन्टर’ बनाउन नसकेको भनेर प्रदेश १ सरकारको आलोचना भइरहेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला सुरक्षा समिति मोरङको बैठकबाट ‘होल्डिङ सेन्टर’ बनाउने निर्णय भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जुट मिल्सको खाली तथा अतिक्रमित तीन बिघा जग्गामा सेन्टर बनाउन सिफारिस गरिसकिएको छ । माथिबाट अनुमति प्राप्त भएपछि बनाउने काम तत्काल सुरु गर्ने योजना रहेको उहाँको भनाइ छ । ‘छिमेकी मुलुक भारतबाट आउनेहरुलाई ‘होल्ड’ गरेर राख्नका लागि ‘सेन्टर’को आवश्यकता थियो,’ प्रजिअ निरौलाले भन्नु भयो, ‘आफन्त, परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पछि जिम्मा लगाइने गरी त्यहाँ राखिने छ ।’ भारतबाट आउनेहरुको सुरुमा रानी नाकाको हेल्थ डेक्समा एन्टिजेन परीक्षण गरिने छ ।

रिपोर्ट पोजिटिभ आएमा उपचारका लागि लगिने र नेगेटिभ आएमा ‘सेन्टर’मा राख्दै जिम्मा लिन आउन परिवारका सदस्य तथा सम्बन्धित स्थानीय तहलाई खवर गरिने निरौलाको भनाइ छ । केही दिनदेखि रानी नाका हुँदै भारतबाट दैनिक २० जनाभन्दा बढी नेपाल प्रवेश गरिरहेका छन् । यसअघि दैनिक दुई सयभन्दा बढी आउने गरेका थिए । भारतबाट आएकालाई ‘सेन्टर’मा खानपिनसहित कम्तीमा १२ दिनसम्म राख्ने व्यवस्था मिलाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । भारतबाट आएका तर बाहिरका जिल्ला घर भएकाहरु अलपत्र नपरुन् भनेर ‘होल्डिङ सेन्टर’ बनाउन लागिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button