Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट एक सय ४६ किलो गाँजा बरामद

विराटनगर, १६ भदौ । ट्याक्टरमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले हिजो साँझ विराटनगरबाट ठूलो परिणामको गाँजा बरामद गरेको छ ।

को २ त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको रानी विराटनगरस्थित बोर्ड आउट पोस्ट (बीओपी) को टोलीले साँझ ७ः३० बजेतिर एक सय ४६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।

सशस्त्रले ट्याक्टर चालक सुनसरीको गढी गाउँपालिका–३ का ३४ वर्षीय सुरेशकुमार मेहतलाई पनि नियन्त्रणमा लिएको छ । सशस्त्रले पक्राउ गर्दा ट्याक्टरमा उनी एक्लै थिए ।

सुनसरीको धरान, इटहरी र दुहवीहुँदै ट्याक्टरमा विराटनगर भित्राइएको गाँजा नियन्त्रणमा लिन हिजो बिहानैबाट सशस्त्रका हवल्दार भीम अधिकारी, सहायक हवल्दार फणिन्द्र कोइराला र पूर्णकुमार लिम्बूल परिचालित थिए ।

विराटनगर महानगरपालिका–१७ आईसीपी (एकीकृत भन्सार जाँच चौकी) जाने सडकबाट ट्याक्टर, चालक र ठूलो परिणामको गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनु भयो ।

उनका अनुसार प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा एक सय २७ पोका गाँजा बरामद भएको हो । ट्रलीमा बनाइएको ‘फल्स बटन’मा गाँजा बाहेक ट्याक्टर पूरै खाली रहेको पौडेलले बताउनु भयो ।

पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरको शनिमन्दिरबाट ट्याक्टर ‘रिसिभ’ गरेको बताएका छन् । प्रहरीले यसको कारोबारमा संलग्न अन्यको खोजी थालिएको जनाएको छ । सशस्त्रले बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्याक्टरसहित चालकलाई गयराति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।

रानीका प्रहरी निरीक्षक दीपक थापाले चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिनु भयो ।

पक्राउ परेका मेहताले दिएको सूचना र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा गाँजा कारोबार गर्ने गिरोहसम्म पुग्ने र त्यो गिरोहको सञ्जाल भत्काउने प्रयास थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

नेपालमा प्रति किलोग्राम १० हजार रुपैयाँमा गाँजाको किनबेच हुने प्रहरीको भनाइ छ । त्यसैलाई भारत पुर्याउँदा प्रति किलो २० हजारभन्दा बढी पर्ने भएकाले नेपालमा उत्पादित गाँजा अवैध रुपमा लुकाईछिपाई सुरक्षाकर्मीलाई छल्दै सीमा कटाउने गरिएको नेपाल प्रहरी स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button