Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट भारततिर डिजेलको तस्करी हुने गरेको पुष्टि

विराटनगर, २ चैत । इन्धन ढुवानी गर्ने ट्यांकरकै प्रयोग गरेर विराटनगरबाट भारततिर इन्धन(पेट्रोलीयम पदार्थ) को तस्करी हुने गरेको पुष्टि भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगर र प्रहरीको संयुक्त टोलीले इन्धनको तस्करीमा प्रयोग गरिएको को १ ख ५९१२ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

घटना चाल पाएपछि फरार बनेका ट्यांकरका धनी चरणप्रीत सिंहको खोजी प्रहरीले तीव्र पारेको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार भारततिर तस्करी गरेर लैजान लागिएको दुई हजार छ सय ५० लिटर डिजेल पनि नियन्त्रणमा लिइएको छ । तस्करीको डिजेलसहित ट्यांकर र ट्यांकरका चालक भारत अररीयास्थित मीरगञ्ज घर भएका १९ वर्षीय इमरोज आलम तथा सह–चालक २६ वर्षीय सजाद आलमलाई पनि पक्राउ गरिएको जानकारी खड्काले दिनु भयो ।

ट्यांकर, पक्राउ परेका चालक र सह–चालक तथा तस्करी गरेर भारत पुर्याउन खोजिएको डिजेल आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिएको छ । भारतको बरौनीबाट इन्धन लिएर विराटनगर आउने ट्यांकरले फर्कदा तस्करी गरेर इन्धन लग्दै भारतमा पुर्याएर महँगोमा बिक्री गर्ने गरेको पनि खुलेको छ । भारतको बरौनी डिपोबाट २० हजार लिटर (२० के एल) पेट्रोल लोड गरेर गत शुक्रबार विराटनगर आइपुगेको उक्त ट्यांकरलाई पेट्रोल अनलोडका लागि सुनसरीको इटहरी आसपासका चारवटा पेट्रोल पम्पमा पठाइयो ।

पेट्रोल खन्याइसकेर खाली फर्किएको ट्यांकरलाई भारत पठाउनुअघि चाबी लगाउन खोज्दा तस्करीको डिजेल रहेको पुष्टि भएको निगम विराटनगरका प्रवक्ता दिवस विष्टले जानकारी दिनु भयो । प्रवक्ता विष्टका अनुसार नेपाल आइपुगेपछि ‘लक’ खोलेर ट्यांकर खाली गर्न पठाएका समयमा बीचबाट कुनै पम्पदेखि इन्धन भरेर तस्करी गर्ने गरेको पाइएको छ । बरौनी डिपोमा इन्धन भर्न पठाउनलाई पुनः ‘लक’ गर्न खोज्दा उक्त ट्यांकरमा तस्करीको डिजेल रहेको फेला परेको जानकारी उहाँले दिनु भयो ।

निगमले ट्यांकरलाई तस्करी गर्नका लागि डिजेल उपलब्ध गराउने पम्पमाथि पनि छानबिन थालेको छ । पम्पको नाम भने गोप्य राखिएको छ । विष्टले पम्पहरुकै मिलेमतोमा इन्धनको तस्करी भारततिर हुने गरेको पाइएपछि गम्भीर ढंगले अनुसन्धान थालिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button