विराटनगरबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु

0
131

बिराटनगर ८ मंसिर आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ । प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पटक व्यावसायीक माउन्टेन फ्लाइट सुरु गरिएको हो।विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा आज बाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव, त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वाेच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु अवलोकन गरेका छन् ।यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाइट गरिएको थियो । विशेषगरी भारत र बंगलादेशका पर्यटकसमेतलाई लक्षित गरी काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइटको साप्ताहिक उडान गर्ने योजना छ । पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर्ड विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने छ ।विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँग साझेदारी गरिएको छ । कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सलाई प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ ।विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सय रुपैयाँमा विराटनगरबाट माउन्टेन फ्लाइट गर्न पाउनेछन् । त्यसमा प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न पाइने छ । प्रदेश १ मा रहेका सर्वाेच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिन्छ ।विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट काठमाडौंबाट हुनेभन्दा सस्तो हो । काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि प्रति यात्रु ११ हजार ६३५ रुपैयाँ तिर्नुपर्छ ।यसैबिच विराटनगरबाट माउन्टेन फ्लाइटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको बिकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । उहाले वाह्य र आन्तरिक पर्यटक भित्राउन विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र बिकास गरी त्यसबाट प्रदेशलाई समृद्धिको यात्रामा अघि बढ्न पनि सहयोग पुग्ने उहाले जानकारी दिनुभयो । निजी क्षेत्रको सहयोगमा प्रदेशको बिकास गर्न सरकारले चाहेको बताउँदै उहाले प्रदेश सरकारको बिकासको योजनालाई साझा बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड समेत दिनुभयो ।मुख्यमन्त्री राईले भन्नु भयो, ‘प्रदेशमा धेरै पर्यटक लोभ्याउने पर्यटकीय स्थल र गन्तव्य रहेका छन्, त्यसको विकास र प्रवद्र्धन गर्न सरकार लाग्नेछ, पर्यटन बिकासको माध्यमबाट सरकार यस प्रदेशसको समृद्धिको बाटोमा अघि बढ्ने छ ।’उहाले आजबाट शुरु भएको माउन्टेन फ्लाइटको उडान अब कुनै पनि अवस्थामा नरोकिने र यसलाई नियमित गर्नका लागि प्रदेश सरकारले सम्बन्धित एयरलाइन्स कम्पनीसँग पनि कुरा गर्ने आश्वासनसमेत दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here