Tune to BFM 91.2|Biratnagar

विराटनगरमा एकै दिन सात संक्रमितको मृत्यु

विराटनगर, ४ कात्तिक । विराटनगरका विभिन्न अस्पतालमा उपचाररतमध्ये एकै दिन सात जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये सातै जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

विराटनगरमा उपचाररत कोरोना संक्रमितको एकै दिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेमा पाँच महिला र दुइ पुरुष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको आज बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा गत आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई हिजो उपचारका लागि भर्ना गरिएको थियो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको हिजो साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ ।

केही दिनअघि पीसीआर परीक्षण गराएका उनी रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा रहेको बस्नेतले बताउनु भयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो पुरुषलाई उपचारका लागि कोभिड अस्पताल ल्याइएको हो । यता मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा मृत्यु भएको छ ।

असोज २८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा ग्राह्रो हुने समस्या रहेका उनको मृत्यु गय राति १२ बजेतिर भएको हो । विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनु भयो । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो ।

असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ । त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान ८ः५० बजेतिर मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको बिर्तामोड नगरपालिका–४ की महिलाको उपचारका क्रममा ज्यान गएको हो ।

कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको जानकारी उहाँले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button