Tune to BFM 91.2|Biratnagar

विराटनगरमा एम्बुलेन्स दुर्घटना, उपचारका लागि ल्याइएका बिरामीको मृत्यु

विराटनगर, १५ मंसिर । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा भएको एम्बुलेन्स दुर्घटनामा परेर उपचारका लागि विराटनगर ल्याइएका बिरामीको मृत्यु भएको छ ।

सडकमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएर आज बिहान १ बजेतिर भएको दुर्घटनामा परेर बिरामीको मृत्यु भएको हो । दुर्घटनामा परेर एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो । बिग्रिएपछि राजमार्गको सडकमा लहरी रोकेर राखेको खुलेको छ । एसपी खड्काका अनुसार दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी –२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।

एम्बुलेन्स लहरीमा ठोक्किएपछि भएको दुर्घटनामा परेर गम्भीर घाइते हुन पुगेका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । उपचारका लागि लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेर मृत्यु भएपछि मण्डलले उपचार गराउने अस्पतालसम्म पनि पुग्न पाएनन् ।

प्रहरीका अनुसार मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ । दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् ।

तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ । प्रहरीले लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको जनाएको छ ।

दुर्घटनामा परेर एम्बुलेन्समा पूर्ण रुपमा क्षति पुगेको एसपी खड्काले बताउनु भयो । उहाँले घटनाका बारेमा अनुसन्धान थालिसकिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button