Tune to BFM 91.2|Biratnagar

विराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु

विराटनगर, ४ जेठ । विराटनगर महानगरपालिका–१० मधुमारामा आज बिहान एक जना औषधि व्यवसायीको शंकास्पद तवरबाट मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद बनेर गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आउनु भएको थियो । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उहाँलाई उपचारका लागि बिहान ३ बजे कोसी अस्पताल पुर्याइएको थियो ।

प्रहरीका अनुसार श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्ले मिलेर उपचारका लागि पुर्याउन साथ अस्पतालले उहाँलाई मृत घोषित गरेको थियो । मृतकको शवको अवस्था हेरेर चिकित्सकले मृत्यु अस्वभाविक रहेको बताएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

डीएसपी राईका अनुसार दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको हो । सुतेको ओछ्यानमा रगत लतपतिको भेटिएको छ ।

डीएसपी राईले घटनास्थल मुचुल्का उठाउँदै गम्भीर ढंगबाट अनुसन्धान अघि बढाइएको बताउनु भयो । प्रहरीले दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायीहरु धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिनु भयो । प्रहरीकाअनुसार औषधि व्यवसायी काफ्ले र श्रेष्ठ राति अवेरसम्म दुलालकै कोठामा मदिरा सेवन गर्दै बसेको खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी श्रीमती मीनाले श्रीमान उच्च रक्तचापको बिरामी रहेको र त्यही कारणले मृत्यु भएको हुन सक्ने दाबी गरेको प्रहरीले जनाएको छ ।

तर प्रहरीले भने घटनाको प्रकृति हेर्दा कुटपिट गर्दै घाँटी कसेर हत्या गरेको जस्तो देखिने बताएको छ । डीएसपी राईले राति अवेरसम्म दुलालकै कोठामा मदिरा सेवन गरेर बसेको खुलेपछि अरु दुई जना औषधि व्यवसायीलाई नियन्त्रणमा लिइएको बताउनु भयो ।

त्यस्तै एउटै कोठामा सुतेका श्रीमानको मृत्यु हुँदा पनि थाहा नपाएको बताएपछि र शव हेर्दा मृत्यु अस्वभाविक देखिएपछि श्रीमतीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ थालिएको उहाँको भनाइ छ । दुलाल र मीनाका ८ वर्षका छोरा छन् ।

डीएसपी राईले शवको पोस्टमार्टम रिपोर्ट आएपछि र अनुसन्धान टुँगिएपछि घटनाको वस्ताविकता बाहिर आउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button