Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोनाले आमाछोराको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना संक्रमित एकै परिवारका आमा छोराको विराटनगरमा मृत्यु भएको छ । आमाको मृत्यु भएको भोलिपल्ट छोरोको पनि ज्यान गएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया वृद्धा महिला र उनका ४२ वर्षे छोराको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । छोरालाई वैशाख २३ गते भर्ना गरिएको थियो । आमाको भेन्टिलेटर र छोराको अक्सिजन सपोर्टमा आईसीयूमा उपचार भइरहेको बेला दुवै जनाको मृत्यु भएको अस्पतालका लेखा अधिकृत सुवास पोखरेलले बताउनु भयो । उहाँका अनुसार आमाको हिजो बेलुका ७ः३० बजेतिर र छोराको आज दिउँसो २ बजेतिर मृत्यु भएको हो । वृद्धाको शवको विराटनगरको हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्त्येष्टि गरिएको छ । छोराको शव अस्पतालमै रहेको पोखरेलले बताउनु भयो ।

मृतक पुरुष विराटनगरका सुनचाँदी व्यवसायी हुन् । उनको गत वर्ष मात्रै मृगौलाको प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बतायो । अस्पताल ल्याउँदा आमाछोराकै अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै पोखरेलले स्वास्थ्यमा उतारचढाव हुँदाहुँदै दुवै जनाको एक दिनको फरकमा मृत्यु भएको जानकारी दिनु भयो । एकै परिवारका आमाछोराको कोरोनाका कारण मृत्यु भएको खवर पाउँदा वडाध्यक्ष विनोदकुमार बस्नेत पनि आफ्नी संक्रमित आमाको उपचारका लागि रगतको जोहो गर्न व्यस्त हुनुहुन्थ्यो । संक्रमित ७५ वर्षीया उहाँकी आमालाई वैशाख २५ गते मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आमा नै उपचाररत रहे पनि पीडामा परेका अरु संक्रमितलाई सकेजति सहयोग गर्न आफू व्यस्त रहेको बस्नेतले सुनाउनु भयो । उहाँका अनुसार भनेका समयमा संक्रमितका लागि प्लाज्मा र रेम्डेसिभिर पनि पाइँदैन । वडाध्यक्ष बस्नेतले कोरोनाको भयावह अवस्थामा संक्रमित बनेकालाई बचाउनका लागि सक्दो सहयोग गर्न सबैमा अपील गर्नु भयो । उपचाररतको प्लाज्मा थेरापीका लागि सहयोग गर्न संक्रमणमुक्त भएकालाई उहाँको आग्रह छ । ‘कोरोनाले उत्पन्न गराएको कठिन परिस्थितिका कारण अवस्था सोचेभन्दा धेरै पर पुगिसक्यो,’ वडाध्यक्ष बस्नेतले भन्नु भयो ‘भयावह अवस्थाको व्याख्या गर्ने शब्द पनि छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button