Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोना जोखिम बढ्दै

विराटनगर, ११ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको एक महिना पुगेको छ । चैत ११ यता लकडाउन गरेको सरकारले भारतसँगको नाका बन्द गरेको छ ।

नाका बन्द गरिए पनि अत्यावश्यक सामग्री बोकेका मालबाहक गाडीहरुको आवत–जावत जारी छ । विराटनगरको रानी भन्सार नाकाबाट दैनिक एकसय हाराहारी मालबाहक गाडी प्रवेश गर्छन् । प्रत्येक गाडीमा चालक र सहचालक हुन्छन् ।

यस हिसाबले कम्तिमा दैनिक दुई सय जना व्यक्ति सहज रुपमा विराटनगर आउ–जाउ गर्छन् । महामारीको जोखिम बढेपछि विराटनगर महानगरपालिकाले विराटनगर प्रवेश गर्ने गाडीमा नाका (आईसीपी)मा विषाणु मार्ने स्प्रे छर्कने र गाडीका चालक तथा सहचालकको ज्वरो नाप्ने काम गर्छ ।

तर जोखि रोक्नका लागि यतिमात्र पर्याप्त नभएको सरकारी अधिकारीहरु स्वयं बताउँछन् । विराटनगर महानगरपालिकाले नाकामा नेपाल प्रवेश गर्ने ट्रक चालकलाई डिसइन्फेक्सन स्प्रे छर्नका लागि कर्मचारी खटाएको छ । त्यस्तै नाकामा आएका चालक तथा सहचालकमा ज्वरो नाप्दा तापक्रम बढी देखिए नेपाल प्रवेश गर्न नदिने गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताउनुभयो ।

२१ हजार बढीमा कोरोना संक्रमित देखिएको भारतमा संक्रमण दर बढ्दो छ । छिमेकमा फैलिँदै गएको महामारी रोकथाममा संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् । विराटनगरको आईसीपी हुँदै वैशाख १ गतेदेखि वैशाख ७ गते सम्म १ हजार १ सय ९० जना चालक र सहचालक नेपाल भित्रिएको तथ्यांक छ ।

त्यसयता दैनिक सरदर दुई सय मानिस भित्रिरहेका छन् । ती सबैको सुरक्षा जाँचका नाममा ज्वरो नापेर गन्तव्यसम्म पुग्न दिइएको छ । महामारी तीव्र रुपमा फैलिएको भारतबाट आएका चालकले सहजै प्रवेश पाउँदा विराटनगर महामारीको जोखिममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button