विराटनगरमा गुणस्तरहीन सेनिटाइजर नष्ट गरियो
विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिका–१५ मा ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सका नाममा उत्पादित मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने गुणस्तरहीन सेनिटाइजर नष्ट गरिएको छ ।
कोरोना त्राससँगै उद्योग स्थापना गरेर अनिल चौधरीले प्रयोगनै गर्न नमिल्ने सेनिटाइजर उत्पादन गरेका हुन् । उत्पादन गरी बिक्रीका लागि बजार लैजाने तयारी हुँदै गर्दा औषधि व्यवस्था विभागको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, उपभोक्तावादी संस्था पब्लिक फोरमलगायतको संयुक्त टोलीले असोज १३ गते अनुगमन गरेर उत्पादनमा रोक लगाएको थियो । त्यस क्रममा एक सय ९४ कार्टुन सेनिटाइजर बिक्रीमा बन्देज गर्दै उत्पादन पूर्ण रुपमा रोकिएको विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार अनुगमन हुँदा दर्ता र अनुमति बिनानै उद्योग स्थापना गरेर सेनिटाइजर उत्पादन गरिररहेको फेला परेको थियो । उद्योग बन्द गराउँदै अवैध रुपमा उत्पादित सेनिटाइजरको नमुना भने संकलन गरेर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको निरीक्षक खड्काले बताउनु भयो । हिजो प्राप्त परीक्षण रिपोर्टले अवैध रुपमा उत्पादन भइरहेको सेनिटाइजर गुणस्तरहीन पुष्टि गरेको उहाँको भनाइ छ ।
विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले प्रयोग गर्न नमिल्ने सबै सेनिटाइजर बुधबार नष्ट गरिएको बताउनु भयो । उद्योगमा आज दोस्रो पटक अनुगमन गर्दै बिक्रीमा रोक लगाइएको उत्पादित सेनिटाइजर नष्ट गरिएको उहाँले बताउनु भयो ।
कट्टेलले मिथाइल अल्कोहल मिसाएर सेनिटाइजर बनाउन नपाउने मापदण्ड रहेको बताउनु भयो । तर परीक्षणबाट मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक उक्त अल्कोहलको प्रयोग गरेर उत्पादन गरेको पाइएको उहाँको भनाइ छ ।