Tune to BFM 91.2|Biratnagar

विराटनगरमा छोटो समयमै फेरिए छ प्रमुख प्रशासकीय

विराटनगर, १७ फागुन । महानगरपालिका घोषणा गरियता मात्रै विराटनगरमा छ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । महानगर प्रमुख भीम पराजुली कुनै पनि समन्वय नभइकन वा जानकारी नदिइकन गरिएको सरुवाप्रति सन्तुष्ट हुनुहुन्न । पराजुली संघीय सरकारबाट हुने अनआवश्यक हस्तक्षेपले महानगरपालिकामा चाँडै प्रशासकीय फेरिने गरेको बताउनु हुन्छ ।

विराटनगरलाई उपमहानगरपालिकाबाट महानगरपालिका बनाउँदा २०७४ सालमा प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला हुनुहुन्थ्यो । विराटनगरलाई २०७४ साल जेठ १७ गते महानगर घोषणा गरिएको हो । कोइरालाको सरुवा २०७४ साल कात्तिक ७ गते भएपछि उहाँको ठाउँमा सरकारले अर्का उपसचिव प्रदीपकुमार निरौला आउनु भयो । । विराटनगरमा सात महिना नबित्दै उहाँको पनि २०७५ साल जेठ २ गते सरुवा भयो । निरौलाको ठाउँमा जेठ ३ गते सहसचिव कुमारप्रसाद दाहाल प्रमुख प्रशासकीय अधिकृत बनेर आउनु भयो । नौ महिनापछि २०७५ फागुन २६ गते सरुवामा पर्नु भएका उहाँको ठाउँमा चौथो प्रमुख प्रशासकीय बनेर उपसचिव एकदेव अधिकारी २०७५ साल चैत ४ गते आउनु भयो ।

अधिकारीको २०७६ साल चैत ५ गते विराटनगरबाट सरुवा भयो । महानगरपालिका घोषणा भएको झन्डै चार वर्ष पुग्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतका रुपमा अधिकारी मात्रै एक वर्षसम्म टिक्न सक्नु भयो । सरुवा हुनुभन्दा तीन महिनाअघि नै अधिकारीका ठाउँमा सरकारले सहसचिव भीष्मराज न्यौपानेलाई विराटनगरमा पोस्टिङ गरेको थियो । तर न्यौपाने आउनु भएन । त्यसपछि अधिकारीको स्थानमा २०७६ साल चैत ६ गते सहसचिव इन्द्रमणि पोखरेल विराटनगर हाजिर हुनु भयो । पोखरेल पछिल्लो समय फागुन ११ गते सरकारले गरेको सहसचिवको अन्तरमन्त्रालय सरुवामा परेपछि उहाँको ठाउँमा अहिले विराटनगरको छैठौं प्रमुख प्रशासकीय तोकेर सरकारले उमेश बस्नेतलाई पठाएको छ । निजामति सेवा ऐनले साधारणतया दुई वर्ष कार्यअवधि तोकिदिएको छ ।

तर साढे तीन वर्षको अवधिमा मात्रै विराटनगरमा छ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसरी छिटोछिटो हुने सरुवालाई संघीय सरकारको अनआवश्यक हस्तक्षेपका रुपमा लिइएको छ । स्थानीय सरकार सञ्चालन ऐनले प्रशासकीय नियुक्ति गर्नसक्ने अधिकारी स्थानीय तहलाई नै दिएको भएपनि अहिलेसम्म प्रशासकीयको खटनपटन संघीय सरकारबाटै भइरहेको हो । संघीय, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारबीचको समन्वय बढाउने र सहकार्य गराउने लगायतका महत्वपूर्ण भूमिकामा रहनुपर्ने प्रमुख प्रशासकीय कै टुंगो नहुँदा अवस्था अन्योल र समस्याग्रस्त बनिरहेको गुनासो मेयर पराजुलीको छ ।

उहाँका अनुसार कानुन तर्जुमा गर्ने, नियन्त्रण गर्ने, कार्यान्वयन एवं अनुगमन गर्ने, वित्तिय सुशासन कायम राख्ने लगायतको भूमिका प्रशासकीयको हुन्छ । प्रमुख प्रशासकीयको सरुवा स्थानीय सरकारको प्रमुखलाई थाहै नहुने उहाँको भनाइ छ । पराजुलीले चाँडोचाँडो प्रशासकीय फेरिँदा प्रशासनिक काम सम्पादन, नगरसभा र कार्यपालिकाले गरेका निर्णयलाई कार्यान्वयन गर्न, सबै पक्षबीच समन्वय एवं सहजीकरण गर्न अप्ठेरो परिरहेको सुनाउनु भयो । टिक्न नसकेर छिटोछिटो प्रशासकीय परिवर्तन भइरहनुलाई स्थानीय र संघीय सरकारका प्रतिनिधिसँग तारतम्य मिल्न नसक्नु, उनीहरुलाई रिझाउन नसक्नु, आपसी मतभेद, समन्वय अभाव, स्वार्थ बाझिनु लगायतलाई कारण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button