Tune to BFM 91.2|Biratnagar

विराटनगरमा छोरासँगको झगडामा बाबुको मृत्यु

विराटनगर, २९ चैत । छोरासँगको झगडामा घाँटीमा बाँसको भाटा उनिएर विराटनगरका एक पुरुषको गय राति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ बलुवाईका ५४ वर्षीय विको सहनी मुखियाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो । माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियासँग झगडा हुँदा घाइते भएका विकोको उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको उहाँले बताउनु भयो ।

बाबुको हत्यामा संलग्न रवि फरार रहेका कारण खोजी तीव्र पारिएको डीएसपी राईले बताउनु भयो । स्थानीयका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे । राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेर पसल बन्द गर्न आग्रह गरेका माइलो छोरा रविको त्यही विषयलाई लिएर बाबुसँग विवाद भएको पाइएको स्थानीयको भनाइ छ ।

विवाद बढ्दै गएपछि उनले कुटपिट गर्दै धकेलिदिँदा घरको बेरा लगाएको बाँसको भाटामा विको उनिन पुगेका थिए । उनको घाँटीमा भाटाले छेडेको चोट छ । घाँटीमा लागेको गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पुर्याइएका विकोलाई राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी राईले दिनु भयो । घटनास्थल वरपर रगत लतपतिएको छ । विकोका तीन छोरामध्ये जेठो जेटु र माइलो रवि माछा मारेर परिवार चलाउँथे ।

कान्छो छोरा बब्लु बिस्कुट उद्योगमा काम गर्छन् । छोरा र पत्नी सुम्नी सहनी मुखियाबाट विको अलग्गै र भिन्दै घरमा बस्ने गरेको खुलेको छ । अलगअलग बस्ने भए पनि परिवारका सबै जनाको घरको साँध र सिमाना भने जोडिएको छ । घटनापछि फरार बनेका रविको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

डीएसपी राईले मदिरा सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनु भयो । उहाँका अनुसार घटना भएका बेला बाबु र छोरा दुवै जनाले मदिरा सेवन गरेको पनि खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button