Tune to BFM 91.2|Biratnagar

विराटनगरमा थप ८ जना कोरोना संक्रमितको मृत्यु


विराटनगर, १८ कात्तिक । पछिल्लो २४ घण्टामा मोरंगको विराटनगर र बुढीगंगामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट शिक्षण अस्पताल वुढीगंगामा ४, न्युरो अस्पताल विराटनगरमा दुई र नोवेल शिक्षण अस्पताल र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बिहान अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा उपचारकै दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले उपचारका क्रममा दिउँसो साढे २ बजेतिर उनको मृत्यु भएको जानकारी दिनुभयो ।

सुनसरीको धरान–१५ का ६३ वर्षीय पुरुषको मंगलबार बिहान साढे ३ बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको छ । उनी कात्तिक १२ गते न्युरोमा भर्ना भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताउनुभयो । किराँत याक्थुम चुम्लुङका केन्द्रीय सचिवसमेत रहेका उनलाई क्यान्सरको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको आज विहान मृत्यु भएको छ । प्रशासकीय अधिकृत आचार्यका अनुसार उपचारका क्रममा बिहान पौने ४ वजेतिर उनको मृत्यु भएको हो । मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत तीन जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना सिरहा सुखीपुरका ७४ वर्षीय पुरुष छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि विराटमै ज्यान गएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा हिजोसाँझ ७ बजेतिर उनको मृत्यु भएको हो । विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको शिक्षण अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताउनुभयो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button