विराटनगरमा नारा, जुलुस र प्रदर्शन

0
286

विराटनगर, ११ मंसिर । मोरङको कटहरी गाउँपालिका १ महेशपुरमा गएराति मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाबीच दोहोरो झडप भएको छ । झडपका कारण स्थिती तनावग्रस्त बनेको थियो । महेशपुरमा मापसे चेकजाँचमा खटिएको प्रहरी टोली र त्यहीं बसेर गफगाफ गरिरहेका स्थानीय बासिन्दाबीच भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिती उत्पन्न भएको हो । स्थितीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी कृष्ण खड्काको नेत्रृत्वमा खटाइएको प्रहरी टोलीसंग स्थानीयको झडप भएको हो । झडपका क्रममा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ पर्नेमा स्थानीय अनन्तराम चौधरी, जोगनारायण चौधरी र सवदनारायण चौधरी रहेका छन् । पक्राउ पर्ने मध्ये सवदनारायण प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हवल्दार हुन् । हवल्दार सवदनारायणकै कारण झडपको स्थिती उत्पन्न भएको एसपी केसीको भनाइ छ । तीनै जना विरुद्ध प्रहरीले आज अभद्र व्यवहारको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ । झडपमा परेर जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते भएका छन् । स्थानीय बासिन्दाले वियरको बोतल प्रहार गर्दा टाउकोमा चोट लागेपछि राईको टाउकोमा चार टाँका लगाइएको एसपी केसीले बताउनु भयो । स्थानीयले ढुँगा मुडा गर्दा प्रहरीको सिआरभी पोष्ट सिटी बैंकको ना १ झ ९२० नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ । स्थानीयले भने प्रहरीले गाउँमा पुगेर ज्यादती गरेको आरोप लगाएका छन् । स्थानीय बासिन्दा तथा आदिवासी जनजाति महासंघ मोरङका पूर्व अध्यक्ष देवराज चौधरीले मापसे चेकजाँचका नाममा प्रहरीले पैसा उठाउने गरेपछि त्यसको विरोध गर्दा स्थानीय बासिन्दामाथि अन्दाधुन्दा लाट्ठी प्रहार गरिएको बताउनु भयो । उहाँले प्रहरीले अनाधिकृत रुपमा पैसा उठाएको विषयमा विवाद भएसंगै थप मद्धतका लागि भनेर पुगेको प्रहरी टोलीले घरघरमा पुगेर महिला, वृद्ध, वृद्धा तथा बालबालिकामाथि दुरव्यवहार गर्दै लाट्ठी चार्ज गरेको बताउनु भयो । घटनाको विरोध गर्दै आज विहान जिल्ला प्रहरी कार्यालय पुगेको स्थानीय बासिन्दा र प्रहरीबीच पनि प्रहरी कार्यालयको गेटैमा झडप भएको छ । चौधरीका अनुसार मोरङका प्रहरी प्रमुखलाई घटनाको वास्तविकता बताउन जनप्रतिनिधी सहित स्थानीय बासिन्दा जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । त्यस क्रममा पनि प्रहरीले अन्दाधुन्दा लाट्ठी प्रहार गरेको स्थानीयको भनाइ छ । प्रहरीले वडा नम्बर १ का अध्यक्ष कपुरलाल माझी, वडा सदस्य गंगा राय र ६५ वर्षीय वृद्धा पवनीदेवी चौधरीमाथि दुरव्यवहार गर्दै स्थानीय बासिन्दामाथि लाट्ठी प्रहार गरेको महासंघका पूर्व अध्यक्ष चौधरीको भनाइ छ । प्रहरीको लाट्ठी प्रहारबाट वडा सदस्य रायको टाउको फुटेको छ । पवनीदेवीको कपडा च्यातिएको छ भने प्रहरीले लाट्ठीले घोच्दा अनुहारमा चोट लागेको छ । स्थानीय बासिन्दाले घटनाको विरोधमा आज विराटनगरमा प्रदर्शन समेत गरेका छन् । उनीहरुले प्रहरीको ज्यादती बन्द गर्नु पर्ने, दोषी प्रहरीमाथि कारवाही गरिनु पर्ने, विना कारण पक्राउ गरिएका तीन जना निर्दोश रहेको भन्दै उनीहरुलाई विना सर्त छाडिनु पर्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर पनि स्थानीयले प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन पोखरेल विराटनगरको विरेन्द्रसभा गृहमा पुग्नु अघि नै स्थानीयले प्रदर्शन थालेका थिए । यस घटनालाई लिएर उत्पन्न तनाव अन्त्यका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा अहिले सर्वपक्षिय वार्ता भइरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here