Tune to BFM 91.2|Biratnagar

विराटनगरमा नियमविपरितका पाँचवटा फार्मेसी सिल, अनुगमन हुन थालेपछि फार्मेसी सञ्चालक भागे

विराटनगर, १२ असोज । विराटनगरमा नियमविपरित सञ्चालन गरिएका पाँचवटा फार्मेसी (औषधि पसल) लाई औषधि किनबेचमा रोक लगाउँदै आज सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले अनुगमन गर्दा लापरबाही र बद्मासी गरिरहेको फेला परेपछि फार्मेसी सिल गरिएको हो ।

विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले नवीकरणबिनै सञ्चालन गरिएका र अनुमति प्राप्त व्यवसायी नराखेर औषधिका बारेमा जानकारीनै नभएका व्यक्तिका भरमा औषधि बिक्री गर्ने फार्मेसीहरु बन्द गरिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार विराटनगरमा सञ्चालनमा रहेका २१ वटा फार्मेसीमा सोमबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा नोबेल शिक्षण अस्पतालभित्र दुईवटा सुस्वास्थ्य र मेडिकेम फार्मेसी एक वर्षदेखि नवीकरणनै नगरिकन सञ्चालन भइरहेको फेला परेको थियो ।

दुवै फार्मेसी बन्द गरिएको छ । अनुगमन टोलीले अनुमति प्राप्त व्यवसायीबिनै बाहिरका मान्छेलाई राखेर औषधि बिक्री गर्ने नोबेल अस्पताल र विराट नर्सिङ होम आसपासमा सञ्चालनमा रहेका अरु तीनवटा फार्मेसी सिल गरेको छ ।

अनुगमन सुरु हुन थालेको चाल पाएर नोबेल अस्पताल आसपासका १८ वटा फार्मेसी बन्द गरेर सञ्चालक भागेको जानकारी उहाँले दिनु भयो । टोली पुग्नसाथ फार्मेसी सञ्चालकबीच भागाभाग भएको थियो । प्रहरीसँग समन्वय गरेर खोजी गर्दै उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको कट्टेलले बताउनु भयो ।

बिक्री वितरण गर्न योग्य नभएका व्यक्ति अर्थात अनुमति प्राप्त व्यवसायीबिनै बिक्री गरिँदा गलत औषधि परेर बिरामीको ज्यानै जाने जोखिम हुने उहाँको भनाइ छ ।

विराटनगरभित्र नियम विपरित सञ्चालन गरिएका सबै फार्मेसीलाई जतिसक्दो कानुनी कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button