Tune to BFM 91.2|Biratnagar

विराटनगरमा पनि आमहड्तालको प्रभाव, तर छैन उत्साहजनक सहभागिता

विराटनगर, २२ माघ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । चौतर्फी विरोधको मत्लब नै नगरिकन दाहाल–नेपाल समूहले अचानक हड्ताल आह्वान गरेको हो ।

यसको विभिन्न पक्षबाट विरोध भइरहेको छ । तर अटेर गर्दै गरिएको हड्तालमा उत्साहजनक सहभागिता पनि देखिएन । सबै हड्तालको विपक्षमा देखिएपछि केही नेता र थोरै संख्यामा कार्यकर्ता बन्द सफल बनाउनभन्दै सडकमा निस्किएका छन् । आन्दोलनमा देखिएको उपस्थितिले बन्द र हड्ताल कोही कसैलाई पनि मान्य छैन भन्ने पुष्टि गरेको सरोकारवालाको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चालेको असंवैधानिक कदमको विरोधमा उत्रदा साहानुभूति बटुल्दै गइरहेको दाहाल–नेपाल समूह सबै पक्षको आग्रहलाई बेवास्था गर्दै विभिन्न क्षेत्रलाई तहसनहस बनाउने गरी हड्तालमा उत्रदा भने आलोचिन बनेको छ ।

प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध यसअघि देखिनै आन्दोलनरत दाहाल–नेपाल समूहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा हड्तालको आह्वान गरेको हो । हड्ताल सफल बनाउनभन्दै विराटनगरका चोकचोकमा बन्दकर्ता भेला भएका छन् । बिहानैदेखि सडकमा निस्किएका उनीहरु ठाउँठाउँमा बन्द गराउँदै हिँडिरहेका छन् । विराटनगरको बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक, मोरङको बूढीगंगास्थित बाँसबारी लगायतका स्थानमा बन्दकर्ता स–साना समूह–समूह बनाएर सडकमा निस्किएका छन् । बन्दकर्ताले ठाउँठाउँमा सुरक्षाकर्मीलाई छल्दै टायर बालेर प्रदर्शन पनि गरिरहेका छन् । विराटनगरको शनिमन्दिरमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरे । सुरक्षा हस्तक्षेपसँगै बन्दकर्ता पछि हटेपछि प्रहरीले आगो नियन्त्रणमा लिएर बाल्न तयारी अवस्थामा राखिएको टायर बरामद गरेको छ ।

उनीहरुले कतिपय स्थानमा सवारी साधन तोडफोडको प्रयास पनि गरेको प्रहरीले जनाएको छ । विराटनगरको रानी क्षेत्रमा भारतीय नम्बर प्लेटको एउटा गाडी तोडफोडको प्रयास गरिएको छ । तर तत्काल उम्कन सकेका कारण तोडफोडबाट जोगिएको गाडीको नम्बर भने नखुलेको प्रहरीले जनाएको छ । कुनै पनि अप्रीय घटना हुन नदिन सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । अहिलेसम्म कोही पनि आन्दोलनकारीलाई पक्राउ भने नगरिएको उहाँले बताउनु भयो । खड्काले बन्दका क्रममा बिहान कुनै पनि अप्रीय घटना नभएको र स्थिति सुरक्षाकर्मीको नियन्त्रणमै रहेको जानकारी दिनु भयो ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा भने अवरोध गरिएको छैन । बजार, पसल, यातायात, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था भने बन्द भएका छन् । साना सवारी साधन मोटरसाइकल, सिटी सफारी, अटो टेम्पो लगायत भने सञ्चालनमा छन् । नेकपाको असन्तुष्ट पक्षद्धारा गरिएको बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन नचल्दा राजमार्ग सुनसानजस्तै बनेका छन् । नेपाल यातायात मजदुर संघका मोरङ अध्यक्ष बाबुराम कट्टेलले दैनिक काठमाडौंका लागि छुट्ने बसहरु ग्यारेजमा थन्किएको बताउनु भयो । उहाँका अनुसार विराटनगरबाट दैनिक कम्तीमा छ वटा माइक्रो र आठ वटा ठूलो बस काठमाडौंका लागि छुट्ने गरेका थिए ।

बन्दका कारण विराटनगर महानगरपालिकाभित्रका ७० वटाभन्दा बढी निजी शैक्षिक संस्थाको पठनपाठन प्रभावित बनेको प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनु भयो । बन्द आह्वान गरेको समूहले त्यसको उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य महेश रेग्मीले कुनै पनि पक्षलाई असहज हुने गरी हड्ताल नगरिएको र यसलाई एउटा आन्दोलनका रुपमा बुझ्नुपर्ने बताउनु भयो ।

कामचलाउन सरकारले असैंधानिक गतिविधी गरी संवैधानिक नियुक्ति गर्न थालेपछि विरोध गर्नु परेको उहाँको भनाइ छ । सरकारले संविधान मिच्ने, अदालतमा विचाराधिन मुद्दाको अवज्ञा गर्ने, लोकतन्त्रमाथि हमला गर्ने, संविधानलाई कुल्चिने र समग्र मुलुकलाई अराजकता एवं निरंकुशतन्त्रतर्फ धकेल्ने कदम चालेपछि हड्तालसम्मको आन्दोलनमा उत्रनु परेको जिकिर रेग्मीको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ वटै जिल्लामा कुनै पनि अप्रीय घटना भएका छैनन् ।

सबै ठाउँमा व्यापक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले सबै ठाउँको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको र स्थिति सुरक्षाकर्मीको नियन्त्रणभित्रै रहेको जानकारी दिनु भयो । विगतका दिनको तुलनामा अवस्था असामान्य भए पनि प्रहरीले सबै क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेर स्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको उहाँको भनाइ छ ।

बन्द र हड्तालका नाममा हुने जस्तोसुकै अराजक र अवाञ्छित गतिविधीलाई नियन्त्रणमा लिइने डीआईजी कार्कीले बताउनु भयो । बन्दका नाममा कोही कसैलाई दुःख दिने, धम्क्याउने र आतंकित पर्ने कार्य भएको पाइएमा त्यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याइने कार्कीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button