Tune to BFM 91.2|Biratnagar

विराटनगरमा पसल सञ्चालन गरेकोभन्दै उम्लिएको तेल खन्याइदिँदा आमा–छोरी घाइते

विराटनगर, १८ माघ । आमहड्ताल घोषणा गरेर आन्दोलन गर्न सडकमा निस्किएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अराजक एवं अमानवीय शैली देखाउन थालेका छन् ।

उनीहरुले बन्दको बेला चियानास्ता पसल सञ्चालन गरेकोभन्दै पसलमा रहेका दुई महिलामाथि उम्लिइरहेको तातो तेल खन्याइदिएका हुन् । घटनामा परेर एउटै परिवारकाका आमा–छोरी घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेकोभन्दै बन्द गर्न पुगेका बन्दकर्ताले आज अपरान्ह १२ बजेतिर घटना गराएका हुन् । उमालेर सिङ्गडा (समोसा) पकाउन तयारी अवस्थामा राखिएको तेल कन्ती (कराई)बाट खन्याइदिँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन् ।

पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो । उम्लिएको तलले पोलेर आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये वविता ६ महिनाकी सुत्केरी हुन् । विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेकोभन्दै पुगेको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए । कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा लाट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताए ।

मण्डलले भने यस विषयमा आफूले केही नबोल्ने बताउनु भयो । तर भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उहाँले छुट्याउने काम गर्दै आफ्ना कार्यकर्तालाई संयमित बनाउने प्रयास भने गर्नु भएको थियो । यस सम्बन्धी घटनाको भिडियो पनि सुरक्षित छ । त्यो समूहले पसलमासमेत तोडफोड गरिदिएको छ । ‘हामीलाई पनि खाजा खान पसल चाहिने भएकाले चियानास्ता बेच्ने ठाउँ बन्द गर्न हुँदैनभन्दै सुरुमा एउटा समूह आएर गयो,’ प्रमोदले भन्नु भयो, ‘त्यसको केही बेर पछि हुलहुज्जत र होहल्ला गर्दै लाट्ठीसहित आएको आक्रोसित समूहले उम्लिइरहेको तातो तेल श्रीमती र छोरीको शरीरबाट खन्याइदिएर पसलमा तोडफोड गर्दै मलाई पनि आक्रमण गर्यो ।’

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याउने काम गरिदिएको एक प्रत्यक्षदर्शीले बताए । त्यस्तै नास्ता बनाउन तयारी अवस्थामा राखिका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ । भीड थप अराजक बन्दै गएपछि सहनी परिवारका सदस्यले पनि डाडु र पन्यूले तोडफोड र आक्रमणमा उत्रिएकालाई प्रहार गरेका थिए । त्यसपछि त्यो समूह निस्किएर हिँडेको थियो । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै पसल सञ्चालक प्रहरी कार्यालयमा पुगेका छन् ।

कोही कसैलाई पनि असर नपुर्याइकन चिया बेचेर बसेको आफूमाथि आन्दोलनका नाममा अत्याचार भएकोभन्दै उहाँले घटनामा संलग्नलाई जसरी भए पनि कारबाही हुनुपर्ने माग राख्नु भयो । घटनाका विषयमा चाल पाएको प्रहरीले अनुसन्धान थालिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button